वीरगन्ज । जनमत पार्टी पर्साको जिल्ला समन्वय समिति बैठकले जिल्लाका सबै वडामा संगठन विस्तारसँगै वडा अधिवेशनलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको छ।
माइस्थान अतिथि सदन, वीरगन्जमा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षतामा बसेको बैठकले जिल्लाका प्रत्येक वडामा पर्यवेक्षक खटाउने निर्णय गरेको हो। खटाइने पर्यवेक्षकले सम्बन्धित वडामा संगठनात्मक गतिविधिको समन्वय गर्नुका साथै वडा अधिवेशनको तयारी तथा आवश्यक व्यवस्थापनमा सहजीकरण गर्ने जनाइएको छ।
बैठकमा पार्टी संगठनलाई वडा तहसम्म थप सुदृढ र व्यवस्थित बनाउने विषयमा विस्तृत छलफल भएको थियो। साथै स्थानीय जनताका समस्या, आवश्यकता र समसामयिक मुद्दालाई प्राथमिकताका साथ उठाउँदै पार्टीको जनसम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको जनाइएको छ।
निर्धारित कार्ययोजनाअनुसार वडा अधिवेशन सम्पन्न गर्दै पार्टी संगठनलाई सक्रिय, व्यवस्थित र जनमुखी बनाउने प्रतिबद्धता बैठकले व्यक्त गरेको छ। वडा तहमा संगठन विस्तारलाई तीव्रता दिँदै स्थानीयस्तरमा पार्टीको उपस्थिति थप मजबुत बनाउने निर्णयसमेत गरिएको छ।
बैठकमा जनमत पार्टीका राजनीतिक समिति सदस्य सिपु तिवारी, केन्द्रीय सदस्यहरू अधिवक्ता हरिहरप्रसाद साह, श्यामशंकर चौरसिया, राजेश चौरसिया, सुजित चौरसिया र बबिता पिडासैनी तथा प्रदेश सदस्यहरू मोहम्मद अब्दुल हवारी र राजनारायण मिश्रको उपस्थिति थियो।
त्यसैगरी जिल्ला पदाधिकारीहरू नागेन्द्र गुप्ता, फुलेना कुशवाहा, राजुराज गिरी, सत्युग साह र जमिला खातुन, युवा जिल्ला अध्यक्ष मनोज साह, महिला अध्यक्ष अन्जना गुप्तासहित विभिन्न पालिकाका अध्यक्ष तथा पार्टीका नेता–कार्यकर्ताहरू बैठकमा सहभागी थिए।
बैठकले वडा तहमा संगठन विस्तार र अधिवेशन प्रक्रियालाई प्राथमिकतामा राख्दै पार्टीलाई स्थानीयस्तरमा थप प्रभावकारी र जनतासँग प्रत्यक्ष जोडिएको संगठनका रूपमा अघि बढाउने निष्कर्ष निकालेको छ।