काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसद खगेन्द्र सुनारले देशमा बढ्दै गएका बलात्कार तथा हत्याका घटनाप्रति सरकार र संसद् गम्भीर बन्नुपर्ने बताएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुनारले बझाङकी सम्झना कामी, कञ्चनपुरकी निर्मला पन्त, कैलालीकी माया कामी, रूपन्देहीकी अंगिरा पासी, खोटाङकी रेश्मीका परियार र म्याग्दीकी मीना परियारलगायतका बलात्कार तथा हत्याका घटनाको स्मरण गराउँदै राज्यले पीडितलाई न्याय दिलाउन प्रभावकारी कदम चाल्नुपर्ने बताए।
केही दिनअघि गरिमा चौधरीको समेत बलात्कारपछि हत्या भएको उल्लेख गर्दै उनले यस्ता घटनाको सूची निकै लामो रहेको बताए।
‘यो बलात्कार र हत्याको फेरहिस्त धेरै लामो सुनाउन सकिन्छ। घण्टौँसम्म सुनाउन र लामो छलफल गर्न सकिन्छ,’ उनले भने, ‘तर हामीले गरिमाको गरिमा जोगाउन सक्छौँ कि सक्दैनौँ रु निर्मला पन्तको जन्ती जाने हो कि मलामी जाने हो, त्यो छलफल गर्नुपर्ने बेलामा हामी पुगिसकेका छौँ।’
सांसद सुनारले बलात्कार तथा हिंसाका घटनामा केवल संसद्मा छलफल गरेर मात्र नपुग्ने भन्दै पीडितको न्याय र सुरक्षाका लागि ठोस कदम चाल्नुपर्नेमा जोड दिए। महिलाले निर्भय भएर बाँच्न पाउने वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको उनको भनाइ थियो।
‘चेलीले बाँच्न पाउनुपर्छ, नाच्न पाउनुपर्छ भन्ने विषयमा गम्भीर हुन जरुरी छ,’ उनले भने।
सुनारले बलात्कार र भ्रष्टाचारमा दोषी प्रमाणित भएकालाई कडा कारबाही गर्ने कानुनी व्यवस्था तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरे। उनले दोषी प्रमाणित भइसकेपछि कारबाहीमा ढिलाइ गर्न नहुने बताए।
‘बलात्कारी र भ्रष्टाचारी प्रमाणित भएको खण्डमा अन द स्पट ठोक्ने कानुनको व्यवस्था तत्काल लागू गर्न आह्वान गर्दछु,’ उनले भने।
उनले बलात्कार, हत्या तथा महिला हिंसाका घटनामा राज्यको संवेदनशीलता र जवाफदेहिता बढाउनुपर्ने भन्दै पीडितलाई न्याय दिलाउने विषयमा सरकार र संसद्ले प्राथमिकताका साथ काम गर्नुपर्ने बताए।