काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक विपद् व्यवस्थापनका लागि कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए ।
मन्त्रिपरिषद्को निर्णयअनुसार भदौ १० गते नेपाल–चीन सीमाक्षेत्र तथा भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिनेछ ।
सरकारले विपद्का कारण प्रभावित नागरिकको खोज, उद्धार तथा राहत व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले उक्त निर्णय गरेको जनाएको छ ।
पछिल्लो समय नेपाल–चीन सीमाक्षेत्र तथा भोटेकोशी नदीमा आएको बाढीका कारण विभिन्न क्षेत्रमा जनधनको क्षति भएको छ । बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग जुटाउने क्रम जारी छ ।