पर्सामा प्रहरीले अवैध लागूऔषध अफिम र ब्राउनसुगरजस्तो देखिने पदार्थसहित पाँच जनालाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका–१५ बाट अफिमजस्तो देखिने पदार्थ ३ ग्राम ७४ मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्साको पटेर्वासुगौली गाउँपालिका–१ कञ्चनपुरका ३१ वर्षीय गफुर मियाँ र सोही गाउँपालिका–१ सोनबर्षाका २९ वर्षीय दिलसाद आलम देवान रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले अनटेष्ट लेखिएको मोटरसाइकलमा सवार उनीहरूलाई शंकास्पद अवस्थामा जाँच गर्दा उक्त पदार्थ फेला पारेको जनाएको छ । त्यसपछि दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । यसैगरी, वीरगञ्ज महानगरपालिका–१६ बाट ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब १ सय ग्रामसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको बिहार, पूर्णिया सदर हाजिरगञ्ज–४५ घर भएका १९ वर्षीय कृष्णा कुजुँरसहित तीन जनालाई आइतबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उनीहरूलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका पाँचै जनामाथि बरामद पदार्थको परीक्षण तथा लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।