भारतको हरैया थाना क्षेत्र अन्तर्गत मैत्री पुलनजिकैबाट प्रहरीले दुईवटा बोलेरो गाडीमा लुकाएर लैजाँदै गरेको १ सय ९० किलोभन्दा बढी गाँजासहित तीन नेपालीलाई पक्राउ गरेको छ ।
हरैया थाना र सशस्त्र सीमा बल (एसएसबी) को संयुक्त टोलीले सवारीसाधन जाँच गर्ने क्रममा दुईवटा बोलेरोबाट कुल १ सय ९० किलो ६४५ ग्राम गाँजा बरामद गरेको हो ।
प्रहरीका अनुसार बीआर २५ पी ६४८१ नम्बरको बोलेरोबाट ९८ किलो ८४५ ग्राम र बीआर ०५ पी २६२८ नम्बरको अर्को बोलेरोबाट ९१ किलो ८०० ग्राम गाँजा बरामद भएको छ ।
गाँजासहित पक्राउ पर्नेमा पर्सा, नेपालका विष्णुदेव पटेल रहेका छन् । त्यस्तै नेपालकै बारा जिल्लाका रञ्जन पासवान र शिवचन्द्र साह कानू पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको भारतीय प्रहरीले जनाएको छ ।