भारतको उत्तर प्रदेशस्थित कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा अज्ञात शव फेला पर्ने क्रम जारी छ ।
नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशको कुशीनगर क्षेत्रमा नदीमा अहिलेसम्म १३ वटा शव फेला परेका छन् ।
कुशीनगर प्रशासनका अनुसार फेला परेका शवमध्ये ६ पुरुष र ७ महिला रहेका छन् । बीबीसी हिन्दीका अनुसार तीमध्ये ६ शव कुशीनगर मेडिकल कलेजको शवगृहमा राखिएको छ भने शवगृहमा ठाउँ अभाव भएपछि थप ७ शव गोरखपुरस्थित एम्समा पठाइएको छ ।
नदीमा थप शव फेला पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै एसडीआरएफ र एनडीआरएफको टोलीले नारायणी नदीमा निरन्तर खोजी गरिरहेको स्थानीय प्रशासनले जनाएको छ ।
प्रशासनका अनुसार शवको पोस्टमार्टम तथा अन्य आवश्यक प्रक्रिया पूरा भएपछि पहिचान खुलेका शव नेपाललाई हस्तान्तरण गरिनेछ ।
नेपालबाट आफन्त तथा अन्य व्यक्ति शवको खोजी तथा पहिचानका लागि कुशीनगर पुग्न सक्ने भएकाले उनीहरूलाई आवश्यक सहयोग र समन्वय गर्न प्रशासनले नियन्त्रण कक्षसमेत स्थापना गरेको जनाएको छ ।