विराटनगरको सीमावर्ती क्षेत्रबाट अस्पतालको नाम लेखिएको भ्यानमा लुकाएर राखिएको अवस्थामा ६० किलो गाँजा बरामद भएको छ ।
विराटनगर महानगरपालिका–१६ दरैयास्थित कोलर चोकबाट सशस्त्र प्रहरी बल नेपाल, बीओपी दरैयाबाट खटिएको टोलीले मंगलबार राति उक्त गाँजा बरामद गरेको हो । राति करिब ११ बजेको समयमा ‘दिव्य ज्योती अस्पताल प्रा.लि.’ लेखिएको को १ च ६६२० नम्बरको सुजुकी भ्यानलाई सुरक्षाकर्मीले शंकास्पद अवस्थामा रोक्न खोजेका थिए। चेकजाँच गर्न खोजेपछि भ्यानका चालक गाडी छाडेर फरार भएका थिए ।
चालक फरार भएपछि सुरक्षाकर्मीले भ्यानको खानतलासी गर्दा दुईवटा बोरामा प्याक गरेर लुकाइराखेको अवस्थामा करिब ६० किलो गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गाँजा र भ्यानलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। फरार चालकको खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।