रसुवा बाढीमा बेपत्ता आफन्तको पहिचानका लागि डीएनए नमुना सङ्कलन तीव्र
चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका आफन्तको खोजीमा रहेका परिवारले अब डीएनए परीक्षणबाट आफ्ना प्रियजनको पहिचान हुने आशा गरेका छन्।
बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिका आफन्तबाट चितवनमा डीएनए परीक्षणका लागि रगतको नमुना सङ्कलन सुरु गरिएको छ। भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग सङ्घको परिसरमा मङ्गलबारदेखि नमुना सङ्कलन भइरहेको हो।
जिल्ला प्रहरी कार्यालय चितवन, बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुरको सेवा इकाइ चितवन र जनस्वास्थ्य कार्यालय चितवनको समन्वयमा बेपत्ता व्यक्तिका आफन्तबाट नमुना लिइएको हो।
बाढीपछि छोरा सम्पर्कविहीन भएपछि कलैयाका भगवान शर्मा सम्भावित स्थानमा पुगेर लामो समयसम्म खोजीमा लाग्नुभयो। छोराको अवस्था पत्ता नलागेपछि डीएनए परीक्षणबाट पहिचान हुन सक्ने जानकारी पाएपछि उहाँ चितवन पुगेर आफ्नो रगतको नमुना दिनुभयो। शव फेला परेको अवस्थामा भए पनि पहिचान गर्न सकियोस् भन्ने उद्देश्यले नमुना दिएको उहाँको भनाइ छ। यद्यपि उहाँको मनमा छोरा जीवितै भेटिने आशा अझै बाँकी छ।
बर्दियाका रामबहादुर थारू पनि बाढीमा बेपत्ता भएका छोराको खोजीमा चितवन पुग्नुभएको छ। छोरासहित १६ जना साथीहरू बाढीमा हराएको बताउँदै उहाँले विभिन्न स्थानमा फेला परेका शवहरू हेरे पनि छोराको अवस्था पत्ता लगाउन नसकेको बताउनुभयो।
हराइरहेका आफन्तको अवस्था यकिन गर्न नसकिएपछि डीएनए परीक्षण नै अन्तिम माध्यम बन्न सक्ने भएकाले नमुना दिएको उहाँको भनाइ छ। उहाँ अझै पनि बाढी आएको स्थानमै पुगेर छोराको खोजी गर्ने तयारीमा हुनुहुन्छ।
जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरेका अनुसार बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका पहिचान नखुलेका शवबाट समेत डीएनए परीक्षणका लागि आवश्यक नमुना सुरक्षित गरिएको छ। आफन्तबाट सङ्कलन गरिएका नमुना र शवबाट निकालिएको नमुना परीक्षण गरी पहिचान गर्ने उद्देश्यले रगत सङ्कलन भइरहेको उहाँले बताउनुभयो।
सङ्कलित नमुना परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइनेछ।
नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाका प्रहरी निरीक्षक सन्देशकुमार पोखरेलका अनुसार पहिचान खुल्न नसकेका शवबाट मुख्यतः दाँत र हड्डीका नमुना सङ्कलन गरी डीएनए प्रोफाइल तयार गरिन्छ। त्यसपछि बेपत्ता व्यक्तिका आफन्तबाट प्राप्त डीएनए प्रोफाइलसँग सफ्टवेयरको माध्यमबाट मिलान गरिन्छ।
पहिचानका लागि पहिलो प्राथमिकतामा बुबा–आमा वा छोराछोरी अर्थात् पहिलो तहका आफन्तको डीएनए नमुना आवश्यक पर्ने प्रहरीको भनाइ छ। पहिलो तहका आफन्त उपलब्ध नभएको अवस्थामा दाजुभाइ वा दिदीबहिनीको नमुनाबाट पनि पहिचान प्रक्रिया अघि बढाउन सकिनेछ।
नेपाल प्रहरीले पहिचान खुल्न नसकेका तथा बेवारिसे अवस्थामा रहेका शवको सनाखत गरी सम्बन्धित परिवारलाई जिम्मा लगाउन स्वदेश तथा विदेशमा रहेका मृतकका आफन्तलाई डीएनए नमुना उपलब्ध गराउन आग्रह गरेको छ।
चितवन बाहिर रहेका आफन्तले आफूलाई पायक पर्ने जिल्ला प्रहरी कार्यालय वा नेपाल प्रहरी अस्पताल, महाराजगञ्जको प्याथोलोजी ल्याबमा सम्पर्क गरी दुई प्रति पासपोर्ट साइजको फोटोसहित ताजा रगतको नमुना दिन सक्ने व्यवस्था गरिएको छ।
त्यस्तै, विदेशमा रहेका पहिलो तहका आफन्तले सम्बन्धित नेपाली दूतावास वा कूटनीतिक नियोगमार्फत डीएनए प्रोफाइल तयार गराउन सक्नेछन्। विदेशमै तयार गरिएको डीएनए प्रोफाइलको सफ्ट कपी नेपाल प्रहरीको आधिकारिक इमेलमार्फत पठाउन सकिने प्रहरीले जनाएको छ।
यस प्रक्रियाबाट बाढीपछि पहिचान हुन नसकेका शवको सनाखत गर्न तथा लामो समयदेखि आफन्तको अवस्थाबारे अनिश्चित रहेका परिवारलाई सत्यतथ्य पत्ता लगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।