चुरे क्षेत्रमा भाइरल ज्वरोको प्रकोप, सयौँ परिवार प्रभावित
बर्दिबास, भदौ १८ गते । महोत्तरीको बर्दिबास नगरपालिका–५ लगायत चुरे क्षेत्रका विभिन्न बस्तीमा पछिल्लो दुई सातादेखि भाइरल ज्वरोको समस्या फैलिएको छ। लगातारको वर्षा, बाढी र पहिरोका कारण स्वास्थ्य संस्थासम्म पुग्न कठिन हुँदा उपचारमा समस्या देखिएको छ।
चुरे क्षेत्रका प्रभावित बस्तीबाट उपचारका लागि बर्दिबास पुग्न करिब ३० किलोमिटर यात्रा गर्नुपर्ने बाध्यता छ। उक्त दूरीमध्ये करिब १० किलोमिटर खोलाको बाटो पर्ने भएकाले वर्षाका समयमा आवतजावत झनै कठिन हुने गरेको स्थानीय बताउँछन्।
खोलामा आउने बाढीका कारण बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजान तथा स्वास्थ्यकर्मीलाई प्रभावित बस्तीमा पुग्नसमेत समस्या भइरहेको छ। यसले गर्दा बिरामीको संख्या बढ्दै गएको स्थानीयको भनाइ छ।
प्रभावित क्षेत्रमा रुघाखोकी, टाउको तथा शरीर दुख्ने, खान मन नलाग्ने र ज्वरो आउनेलगायतका लक्षण देखिएका छन्। बालबालिकादेखि वृद्धवृद्धासम्ममा यस्ता समस्या देखिएको स्थानीय स्वास्थ्यकर्मीले बताएका छन्।
बर्दिबास नगरपालिका–५ का वडाध्यक्ष कहारमान स्याँवाका अनुसार बरडाँडा, ढुङ्ग्रे, गढन्ता, टुटेश्वर र चेरुलगायत बस्तीमा ठूलो संख्यामा मानिस बिरामी परेका छन्। उहाँका अनुसार वडाका विभिन्न बस्तीमा गरी करिब दुईदेखि तीन सय जना भाइरल ज्वरोबाट प्रभावित भएको अनुमान गरिएको छ।
भाइरल ज्वरोको असर विद्यालयमा समेत परेको छ। बरडाँडास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक विल्टु यादवका अनुसार विद्यालयका करिब ७५ प्रतिशत विद्यार्थी ज्वरोबाट प्रभावित भएका छन्। बिरामी विद्यार्थीको संख्या बढेपछि नियमित पठनपाठन प्रभावित भएको उहाँले बताउनुभयो।
नगर स्वास्थ्य अधिकृत सुरेश पासवानका अनुसार मौसममा केही सुधार आएपछि बुधबार स्वास्थ्यकर्मीको टोली ट्र्याक्टरमार्फत प्रभावित क्षेत्रमा पुगेको थियो। टोलीले बरडाँडामा सञ्चालन गरेको स्वास्थ्य शिविरमा मात्रै २६ महिला र ३३ पुरुष गरी ५९ जना भाइरल ज्वरोबाट प्रभावित भएको पाइएको थियो।
शिविरमा पुगेका बिरामीलाई स्वास्थ्य परामर्शसँगै निःशुल्क औषधि वितरण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्दै गएमा संक्रमण नियन्त्रणमा ल्याउन सहयोग पुग्ने स्वास्थ्यकर्मीको अपेक्षा छ।
बर्दिबास–१० का वडाध्यक्ष प्रमोद मोक्तानसमेत एक सातादेखि भाइरल ज्वरोका कारण बिरामी परेको बताउनुभएको छ। उहाँका अनुसार स्वास्थ्यमा केही सुधार भए पनि अझै कमजोरी कायमै छ।
वडा नं. १० स्थित आधारभूत स्वास्थ्य इकाइका अहेव जीतबहादुर श्रेष्ठका अनुसार भदौ १ देखि १६ गतेसम्म उपचारका लागि स्वास्थ्य इकाइमा आएका २०२ जनामध्ये करिब एक सय जनामा भाइरल ज्वरोका लक्षण देखिएका थिए।
यसैगरी बर्दिबास–११ को उत्तरी खयरमारादेखि छोड्केसम्मका बस्तीमा पनि भाइरल ज्वरोको समस्या देखिएको खयरमारा स्वास्थ्य चौकीका प्रमुख रामवली यादवले जानकारी दिनुभयो।
स्थानीयले चुरे क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच कमजोर रहेकाले प्रभावित बस्तीमा नियमित स्वास्थ्य शिविर सञ्चालन गर्न, आवश्यक औषधिको पर्याप्त व्यवस्था गर्न तथा स्वास्थ्यकर्मीको सहज पहुँच सुनिश्चित गर्न माग गरेका छन्। लगातारको वर्षा र खोलामा आउने बाढीका कारण सडक तथा यातायात प्रभावित भइरहेकाले दुर्गम बस्तीका बिरामीलाई समयमै उपचार उपलब्ध गराउन विशेष व्यवस्था आवश्यक रहेको स्थानीयको भनाइ छ।