वीरगंज । लगातारको वर्षा, सडक विस्तारका क्रममा उत्पन्न धुलो तथा सरसफाइमा देखिएको समस्याका कारण बालबालिकामा देखिन सक्ने स्वास्थ्य जटिलता न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा निःशुल्क बाल स्वास्थ्य परीक्षण शिविर आयोजना हुने भएको छ।
बाल रोग विशेषज्ञ डा. राजकुमार शाहले आगामी शनिबार वीरगंज महानगरपालिका–रानीघाटस्थित मसला गल्लीमा रहेको आफ्नै निजी क्लिनिकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेका हुन्। शिविर बिहान ९ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुने जनाइएको छ।
शिविरमा बालबालिकामा देखिने रुघाखोकी, ज्वरो, पखाला, श्वासप्रश्वाससम्बन्धी समस्या, शारीरिक वृद्धिमा कमी लगायतका स्वास्थ्य समस्याको निःशुल्क परीक्षण गरिने डा. शाहले जानकारी दिए।
बारा, पर्सा तथा सीमावर्ती भारतीय क्षेत्रबाट समेत बालबालिकालाई लक्षित गरी शिविर सञ्चालन गर्न लागिएको हो। पछिल्लो समय लगातारको वर्षाका कारण पानी जम्ने, सरसफाइमा समस्या आउने तथा दूषित पानी र खानाका कारण बालबालिकामा विभिन्न संक्रमणको जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राखेर शिविर आयोजना गरिएको डा. शाहको भनाइ छ।
समयमै स्वास्थ्य परीक्षण र उपचारमार्फत सामान्य स्वास्थ्य समस्यालाई जटिल बन्न नदिनु शिविरको मुख्य उद्देश्य रहेको उनले बताए। विशेषगरी वर्षायाममा बालबालिकामा देखिने संक्रमण तथा अन्य स्वास्थ्य समस्याको प्रारम्भिक पहिचान गरी आवश्यक उपचार र परामर्श प्रदान गरिनेछ।
देशका विभिन्न स्थानमा बाढी तथा पहिरोका कारण जनजीवन प्रभावित भइरहेका बेला बालबालिकाको स्वास्थ्यलाई केन्द्रमा राखेर चिकित्सकले व्यक्तिगत पहलमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन लागेको भन्दै स्थानीयले सकारात्मक रूपमा लिएका छन्।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बाल रोग विशेषज्ञता हासिल गरेका डा. शाहले वीरगंज तथा आसपासका क्षेत्रमा बाल स्वास्थ्य सेवामा सक्रिय रूपमा काम गर्दै आएका छन्।