भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण सम्पर्कविहीन भएकाहरूको खोजी कार्य जारी रहे पनि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा कार्यरत ९सय १९ जना अझै सम्पर्कविहीन रहेका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अनुसार बाढीबाट रसुवा र नुवाकोटका १२ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्। प्रभावित आयोजनामध्ये आठ वटा सञ्चालनमा रहेका छन् भने चार वटा निर्माणाधीन छन् । यी आयोजनाको कुल उत्पादन क्षमता ६ सय ६९ मेगावाट रहेको छ । प्रभावित १२ आयोजनामध्ये ११ वटा आयोजनाबाट मात्रै सम्पर्कविहीन व्यक्तिको विवरण संकलन गरिएको इप्पानले जनाएको छ ।
सबैभन्दा ठूलो संख्यामा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट मानिस सम्पर्कविहीन छन् । २ सय १६ मेगावाट क्षमताको निर्माणाधीन उक्त आयोजनामा बाढी आउनुअघि एक हजार ४ सय ३३ जना कार्यरत थिए । तीमध्ये ८ सय ७८ जनाको उद्धार भइसकेको छ भने ५ सय ४८ जना अझै सम्पर्कविहीन छन्।
सम्पर्कविहीनमध्ये नौ जना कोरियन, ३४ जना चिनियाँ र ५० जना भारतीय नागरिक रहेको विवरणमा उल्लेख छ। आयोजनाको सुरुङ क्षेत्रमा सम्पर्कविहीनको खोजीका लागि नेपाली सेना, नेपाल ड्रोन एसोसिएसन, कोरियाली तथा शेर्पासहितको टोली परिचालन गरिएको छ। ड्रोनमार्फत समेत खोजी भइरहेको र सुरुङभित्रको खोजीलाई तीव्र बनाइएको इप्पानले जनाएको छ।
यसैगरी, १ सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाबाट ९३ जना अझै सम्पर्कविहीन छन्। आयोजनाको विद्युत्गृहमा कर्मचारी फसेको हुनसक्ने आशंकामा खोजी गरिए पनि हालसम्म कोही भेटिएका छैनन्। विद्युत्गृहका चार तला र कन्ट्रोल रुमसम्म बाढीको माटो, हिलो तथा लेदो भरिएको पाइएको छ।
रसुवागढी आयोजनाबाट सम्पर्कविहीन भएकाहरूको खोजी विद्युत्गृहबाहिर पनि जारी छ। आफन्तको आग्रहमा ट्रेकिङ गाइड तथा शेर्पाको टोलीले बट्टेखोलादेखि टिमुरेसम्मको क्षेत्रमा समेत खोजी गरिरहेको छ।
रसुवा–भोटेकोशी जलविद्युत् आयोजनाबाट तीन जना अझै सम्पर्कविहीन छन् । आयोजनाबाट हराएकामध्ये एक जनाको शव फेला परिसकेको छ भने दुई चिनियाँ नागरिकसहित तीन जनाको अवस्था अझै अज्ञात रहेको विवरणमा उल्लेख छ। आयोजनामा कार्यरत पाँच जना भने सुरक्षित स्थानमा पुगिसकेका छन् ।
२० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ३९ जना अझै सम्पर्कविहीन छन् । आयोजनाको सुरुङभित्र दुई जनाको शवसहित केही व्यक्ति फेला परेका थिए । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरे पनि बाँकी व्यक्तिको अवस्था पत्ता लाग्न सकेको छैन ।
सुरुङभित्र थप मानिस फसेको सम्भावना नरहेको भन्दै त्यहाँको खोजी कार्य सकिएको जनाइएको छ । फेला परेका दुई शव क्षतविक्षत अवस्थामा रहेकाले पहिचानका लागि डीएनए परीक्षण गर्ने तयारी गरिएको छ । माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा पनि ठूलो संख्यामा मानिस सम्पर्कविहीन छन्। फेवा कन्स्ट्रक्सनमा कार्यरत १ सय ४१ जना सम्पर्कविहीन रहेकोमा थप १३ जना सम्पर्कमा आएपछि उक्त कम्पनीबाट सम्पर्कविहीनको संख्या १ सय २८ मा झरेको छ।
यद्यपि, आयोजना सम्बद्ध सबै पक्षलाई समेट्दा माथिल्लो त्रिशूली–३ ‘बी’ बाट अझै १७८ जना सम्पर्कविहीन रहेको इप्पानको विवरणमा उल्लेख छ। यसमा आयोजना कम्पनीका कर्मचारी, उनीहरूका परिवारका सदस्य, परामर्शदाता कम्पनीका कर्मचारी, सुरक्षा गार्ड तथा काठमाडौं विश्वविद्यालयबाट इन्टर्नसिपका लागि आएका इन्जिनियरिङ विद्यार्थीसमेत छन्।
बाढीबाट पूर्ण रूपमा प्रभावित आयोजनाको सूचीमा त्रिशूली जलविद्युत् केन्द्र, देवीघाट जलविद्युत् केन्द्र र माथिल्लो त्रिशूली–३ ‘ए’ समेत रहेका छन्। त्रिशूली जलविद्युत् केन्द्रबाट तीन जना र देवीघाट जलविद्युत् केन्द्रबाट एक जना सम्पर्कविहीन रहेको विवरण छ। माथिल्लो त्रिशूली–३ ‘ए’ बाट भने ३९ जना सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ।
बाढीले जलविद्युत् आयोजनाको उत्पादन तथा पूर्वाधारमा मात्रै क्षति पुर्याएको छैन, आयोजनास्थलमा कार्यरत ठूलो संख्याका श्रमिक तथा कर्मचारीको अवस्थासमेत अज्ञात बनाएको छ।
उपलब्ध तथ्यांकअनुसार प्रभावित आयोजनामा कार्यरत ९ सय १९ जना अझै सम्पर्कमा नआएकाले उनीहरूको खोजी तथा उद्धार अहिले मुख्य चुनौती बनेको छ ।