काठमाडौं उपत्यकामा बढ्दो जनसङ्ख्या र सवारी चाप व्यवस्थापन गर्ने उद्देश्यले प्रस्तावित ‘रत्नपार्क–भक्तपुर मेट्रो रेल’ परियोजना अघि बढाइएको छ ।
परियोजनाको सम्भाव्यता अध्ययन सुरु भइसकेको र आगामी छ महिनाभित्र प्रतिवेदन सरकारलाई बुझाइने जनाइएको छ । सरकारले परियोजनालाई अघि बढाउन ‘काठमाडौं उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना २०५०’ तयार गरी सार्वजनिक गरिसकेको छ ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा तीन वर्ष लगाएर तयार गरिएको उक्त गुरुयोजनाले उपत्यकाको दीर्घकालीन यातायात व्यवस्थापनका लागि मेट्रो रेललगायतका विकल्प प्रस्ताव गरेको छ ।
पूर्वाधार विकास मन्त्रालयका सहसचिव तथा विकास सहायता समन्वय महाशाखा प्रमुख सुशीलबाबु ढकालका अनुसार भविष्यमा हुने जनसङ्ख्या वृद्धि, बजार विस्तार र यातायातको मागलाई समेत आकलन गरेर गुरुयोजना तयार गरिएको हो।
उहाँले ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन साना सवारीसाधनको तुलनामा बढी यात्रु बोक्न सक्ने ठूला सार्वजनिक यातायातका साधनलाई प्राथमिकता दिनुपर्ने गुरुयोजनाको सुझावअनुसार मेट्रो रेल परियोजना अघि बढाइएको जानकारी दिनुभयो।
रत्नपार्कदेखि भक्तपुरको जगातीसम्म पहिलो चरण
गुरुयोजनाले पहिलो चरणमा काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको जगातीसम्म मेट्रो रेल सञ्चालन गर्न सुझाव दिएको छ। तर, प्रस्तावित मार्गमा रेल सञ्चालन गर्न प्राविधिक, आर्थिक, सामाजिक तथा वातावरणीय दृष्टिले सम्भव छ वा छैन भन्ने विषयमा विस्तृत सम्भाव्यता अध्ययन आवश्यक रहेको सहसचिव ढकालले बताउनुभयो।
उहाँका अनुसार जाइकाले यससम्बन्धी अध्ययनका लागि टोली परिचालन गरिसकेको छ। टोलीले मेट्रो रेल निर्माणका लागि आवश्यक संरचना, निर्माणबाट पर्ने प्रभाव, वित्तीय प्रतिफल र परियोजनालाई आर्थिक रूपमा दिगो बनाउन अपनाउनुपर्ने उपायबारे अध्ययन गर्नेछ।
त्यसैगरी, प्रस्तावित रेलमार्गमा कहाँ डिपो, स्टेशन र यात्रु चढ्ने तथा ओर्लने स्थान निर्माण गर्ने, पार्किङको व्यवस्था कसरी गर्ने र रेलमार्गको डिजाइन कस्तो हुने भन्ने विषय पनि अध्ययनमा समेटिनेछ।
सम्भाव्यता अध्ययन प्रतिवेदन प्राप्त भएपछि मात्रै परियोजना कार्यान्वयनको प्रक्रिया अघि बढ्ने मन्त्रालयले जनाएको छ।
विमानस्थल क्षेत्रमा भूमिगत, अन्य क्षेत्रमा जमिनमाथि रेलमार्गको प्रस्ताव
गुरुयोजनामा प्रस्तावित मेट्रो रेलमार्गको संरचनाबारे पनि प्रारम्भिक खाका प्रस्तुत गरिएको छ। त्यसअनुसार भक्तपुरको जगातीदेखि अरनिको राजमार्ग हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छेउसम्म जमिनमाथि रेलमार्ग निर्माण गर्ने प्रस्ताव छ।
विमानस्थल क्षेत्रमा भने जमिनमुनि रेलमार्ग निर्माण गर्ने र विमानस्थलदेखि माइतीघरसम्म तथा माइतीघरदेखि रत्नपार्कसम्म जमिनमाथि रेल सञ्चालन गर्ने प्रस्ताव गुरुयोजनामा उल्लेख छ।
यद्यपि, रेलमार्गको अन्तिम डिजाइन, संरचना र निर्माण विधि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा प्राविधिक अध्ययनपछि मात्रै निश्चित हुनेछ।
एक दशकदेखि चर्चामा मेट्रो रेल, कार्यान्वयनमा चुनौती
काठमाडौं उपत्यकामा मेट्रो तथा मोनो रेल सञ्चालन गर्ने विषय एक दशकभन्दा लामो समयदेखि चर्चामा रहे पनि अपेक्षित प्रगति हुन सकेको छैन।
सन् २०१२ मा कोरियन कम्पनी चुन्सुङ इन्जिनियरिङले काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालनको सम्भाव्यताबारे अध्ययन गरेको थियो। उक्त अध्ययनले उपत्यकाका विभिन्न क्षेत्रमा कुल ७७ किलोमिटर मेट्रो रेलमार्ग निर्माण गर्न सकिने सम्भावना औँल्याएको थियो।
अध्ययनअनुसार ५२ किलोमिटर रेलमार्ग जमिनमाथि र २५ किलोमिटर भूमिगत निर्माण गर्न सकिने प्रस्ताव गरिएको थियो।
प्रतिवेदनले सातदोबाटो–रत्नपार्क–नारायणगोपालचोक १२ किलोमिटर, कीर्तिपुर–कालीमाटी–नयाँ बानेश्वर–विमानस्थल ११ किलोमिटर र कोटेश्वर–चाबहिल–स्वयम्भू २९ किलोमिटरमा जमिनमाथि मेट्रो रेल सञ्चालन गर्न सिफारिस गरेको थियो।
त्यसैगरी, स्वयम्भू–डिल्लीबजार–बौद्ध १२ किलोमिटर तथा धोबीघाट–सिंहदरबार–नक्साल–गोंगबु १४ किलोमिटरमा भूमिगत मेट्रो रेल निर्माण गर्न सकिने प्रस्ताव गरिएको थियो।
तर, उक्त अध्ययनले सम्भावना देखाएका अधिकांश रेलमार्गमा हालसम्म पूर्वसम्भाव्यता अध्ययनसमेत हुन नसकेको जनाइएको छ।
मेट्रो रेलले यातायात चाप घटाउने अपेक्षा
यातायातका विभिन्न साधनको यात्रु बोक्ने क्षमताको तुलना गर्दा मेट्रो रेलले सडकमा आधारित यातायातका साधनभन्दा धेरै यात्रु ओसारपसार गर्न सक्ने देखिन्छ। उपलब्ध विवरणअनुसार बसले प्रतिघण्टा प्रतिलेन करिब आठ हजार यात्रु बोक्न सक्ने उल्लेख छ भने मेट्रो रेलको क्षमता प्रतिघण्टा प्रतिलेन २५ हजारदेखि ५० हजार यात्रुसम्म हुन सक्ने दाबी गरिएको छ।
रेल विभागका अनुसार आगामी ५० वर्षसम्म काठमाडौं उपत्यकाको यातायात व्यवस्थापन सहज बनाउन उच्च क्षमताको मेट्रो रेल प्रणाली आवश्यक छ। भूमिगत रेलमार्गले सडकको सीमित स्थानमा पर्ने दबाब कम गर्न र तीव्र गतिमा यात्रु ओसारपसार गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
भूकम्पीय जोखिमका दृष्टिले पनि भूमिगत संरचनालाई सुरक्षित विकल्पका रूपमा प्रस्तुत गरिँदै आएको छ। तर, भूमिगत रेलमार्गको वास्तविक सुरक्षा, लागत र उपयुक्तता भने विस्तृत भूगर्भीय तथा प्राविधिक अध्ययनबाट पुष्टि हुनुपर्नेछ।
रत्नपार्क–भक्तपुर मेट्रो रेल परियोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदनले यसको लागत, निर्माणको स्वरूप र कार्यान्वयनको सम्भावना स्पष्ट गर्ने अपेक्षा गरिएको छ। अबको छ महिनाभित्र प्रतिवेदन प्राप्त भएपछि मात्रै परियोजना निर्माणतर्फ अघि बढ्ने वा नबढ्ने विषयमा थप निर्णय हुनेछ।