अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको आरोपमा नापी कार्यालय कलंकीका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले नापी अधिकृत हिरालाल पार्धे र तत्कालीन सर्भेक्षक अमितकुमार श्रेष्ठविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
चन्द्रागिरी नगरपालिका–९ मा रहेको जग्गा हालसाबिक गरी प्लट मिलानको काममा सहजीकरण गरिदिने भन्दै उनीहरूले सेवाग्राहीसँग घुस रकम मागेको अख्तियारको अनुसन्धानबाट खुलेको जनाएको छ ।
आयोगका अनुसार साविक मच्छेगाउँ–९ग तथा हाल चन्द्रागिरी–९ग मा रहेको जग्गाको हालसाबिक र प्लट मिलानसम्बन्धी कामका लागि श्रेष्ठ र पार्धेले सेवाग्राहीसँग रकमको बार्गेनिङ गरेका थिए ।
नियमअनुसार गर्नुपर्ने काममा अनावश्यक दुःख–हैरानी दिँदै उनीहरूले ५० हजार रुपैयाँ घुस मागेको अनुसन्धानबाट पुष्टि भएको आयोगको दाबी छ ।
घुस रकम प्रत्यक्ष रूपमा आफूहरूले नलिई कार्यालय सहयोगीमार्फत बुझ्ने सहमति समेत उनीहरूले गरेको अख्तियारले जनाएको छ ।
आयोगले उनीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको ठहर गर्दै ५० हजार रुपैयाँलाई बिगो कायम गरी कानुनी कारबाहीको माग गरेको छ ।