एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले समूह चरणको अन्तिम खेलमा हङकङसँग १५ रनको हार व्यहोरेको छ। हारसँगै नेपालले प्रतियोगितामा पहिलो पराजय बेहोरे पनि समूह विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा २४६ रनमै अलआउट भयो। नेपालका लागि इशान पाण्डेले सर्वाधिक ९० रनको उत्कृष्ट पारी खेले। यस्तै, आशिफ शेखले ४४, दीपेन्द्रसिंह ऐरीले २५, करण केसीले २१ र गुलशन झाले २० रन बनाए । नेपालको इनिङ्स ध्वस्त पार्ने क्रममा हङकङका अइजाज खानले चार विकेट लिए। यसिम मुर्ताजाले दुई तथा किन्चित देवांग सिंह, नुसरुल्लाह राणा र अतिकुल इकबालले एक–एक विकेट हात पारे ।
यसअघि क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६१ रन बनाएको थियो। हङकङका बाबर हयातले अविजित ११७ रनको शतकीय पारी खेले। शाहिद वसिफले ४५ तथा जिशान अलीले १५ रन बनाए भने एहसान खान ३५ रनमा अविजित रहे।नेपालका बलरमध्ये सन्दीप लामिछानेले चार तथा शेर मल्लले तीन विकेट लिए ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई ७ विकेटले, आयोजक मलेसियालाई ६ विकेटले र साउदी अरेबियालाई ५ विकेटले पराजित गरेको थियो। चार खेलबाट ६ अंक जोडेको नेपाल रनरेटका आधारमा समूहको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो ।