जेनजी आन्दोलनपछि नेपालको राजनीतिमा आएको परिवर्तनसँगै पहिलोपटक मधेसी समुदायबाट प्रधानमन्त्री बनेपछि मधेसमा नयाँ राजनीतिक आशा जाग्यो। महोत्तरीका बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बनेसँगै मधेसी जनताले आफ्ना वर्षौँदेखिका समस्या समाधान हुने अपेक्षा गरेका थिए। तर सरकारको एक वर्षे कार्यकाल नजिकिँदै गर्दा ती अपेक्षा कति पूरा भए भन्ने प्रश्न उठ्न थालेको छ।
जेनजी आन्दोलन भएको एक वर्ष पूरा हुँदा मधेसमा प्रधानमन्त्री आफ्नै क्षेत्रबाट बनेकोमा खुसीसँगै सरकारको कार्यशैलीप्रति असन्तुष्टि पनि देखिन थालेको छ। विशेषगरी संघीयता कार्यान्वयन, सुशासन, रोजगारी र समावेशिताका सवालमा सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको स्थानीय सामाजिक अभियन्ताहरूको गुनासो छ।
बालेनले गत २०८२ माघ ५ गते मधेसको राजधानी जनकपुरबाट आफ्नो चुनावी अभियान सुरु गरेका थिए। मैथिली भाषामा सम्बोधन गर्दै उनले संघीयतालाई बलियो बनाउने प्रतिबद्धता जनाएका थिए। त्यस क्रममा उनले अधिकारका लागि मधेसी जनतालाई काठमाडौँ धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने आशय व्यक्त गरेका थिए। उनको उक्त प्रतिबद्धताले मधेसमा ठूलो आशा जगाएको सामाजिक अभियन्ता साहन साह बताउँछन्। तर सरकार गठनपछि अपेक्षित परिवर्तन देखिन नसकेको उनको भनाइ छ।
‘मधेसले प्रधानमन्त्री पाउनु जेनजी आन्दोलनको सकारात्मक उपलब्धि हो। तर प्रधानमन्त्री बन्नुअघि गरिएका प्रतिबद्धता पूरा नहुँदा जनतामा निराशा बढेको छ,’ साहले भने।उनका अनुसार मधेसका जनताले बालेनलाई केवल व्यक्ति वा दलका आधारमा नभई परिवर्तनको अपेक्षासहित समर्थन गरेका थिए। त्यसैले अहिले सरकारका काम र उपलब्धिको मूल्यांकन हुन थालेको उनको भनाइ छ।