काठमाडौँ जिल्ला अदालतमा बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।
उदयपुरका दिलबहादुर राईले त्रिपाठीविरुद्ध निवेदन दर्ता गरेका हुन् । त्रिपाठीले रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने कास्की र काठमाडौँका जिल्ला न्यायाधीशहरूका विरुद्ध सञ्चारमाध्यममा दिएको असंवेदनशील टिप्पणीका कारण अदालत र न्यायाधीशको मानमर्दन भएको आरोप लागेको छ । निवेदनमा भनिएको छ, “विपक्षी आफैँ अधिवक्ता भएका कारण अदालत र माननीय न्यायाधीशहरूको विषयमा के कस्ता अभिव्यक्ति दिन मिल्छ भन्ने थाहा नहुने कुरा सम्भव छैन । जानीजानी अपमानजनक अभिव्यक्ति दिएको हुनाले त्रिपाठीलाई झिकाई बयान गराई कानुनी कारबाही गरी हदैसम्मको सजाय दिनुपर्छ ।”
त्रिपाठीमाथि बिना प्रमाण र तथ्यका आधारमा न्यायाधीशको कार्यक्षमतामा प्रश्न उठाएर कानुन व्यवसायी आचारसंहिताको उल्लङ्घन गरेको आरोप छ । त्रिपाठीको अभिव्यक्तिप्रति न्यायाधीश समाजले बुधबार विज्ञप्ति जारी गर्दै खण्डन गरेको थियो। समाजले त्रिपाठीको अभिव्यक्तिलाई गैरजिम्मेवारपूर्ण र कानुन व्यवसायीको मर्यादाविपरीत भएको ठहर गरेको छ ।
निवेदक राईका अनुसार, त्रिपाठीविरुद्ध दायर मुद्दाको पेशी आगामी आइतबारका लागि तोकिएको छ ।