मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा भएको विद्युतीय गाडी (इभी) दुर्घटनामा मृत्यु हुने चारै जनाको पहिचान खुलेको छ ।
मंगलबार दिउँसो हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डअन्तर्गत सुकौरामा काठमाडौंँबाट वीरगन्जतर्फ आउँदै गरेको म.प्र. ०३–००१ ज ०७२० नम्बरको इभी सडकबाट करिब एक हजार मिटर तल खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
मृत्यु हुनेमा बारा परवानीपुर गाउँपालिका–३ का ३२ वर्षीय सरफरोस मियाँ, पर्सा छिपहरमाई गाउँपालिका–२ टिहुकीका ४४ वर्षीय भुवनेश्वर साह, धनुषाका ४३ वर्षीय सुरज भट्टराई र नवलपरासी पूर्वका २४ वर्षीय नरबहादुर सिंह ठकुरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक माधव काफ्लेले मृतकसँग भेटिएका नागरिकता, पासपोर्ट तथा राष्ट्रिय परिचयपत्रका आधारमा उनीहरूको पहिचान खुलेको जानकारी दिए।
दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन्। घाइते हुनेमा बाराको कलैया उपमहानगरपालिका–२४ का २० वर्षीय चालक अमिर अन्सारी, बारा महागढीमाई नगरपालिका–११ की २१ वर्षीया बबियाकुमारी यादव तथा मकवानपुरका राजकुमार स्याङ्तान र कल्पना तामाङ रहेका छन् ।
घाइतेमध्ये चालक अन्सारी, कल्पना तामाङ र राजकुमार स्याङ्तानको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ। बबियाकुमारी यादवको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।