त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार तथा सुरक्षा जाँच पार गरेर बाहिरिएका अवैध तथा कर छलीका सामग्री बरामद हुने क्रम देखिएको छ। विमानस्थलबाट बाहिरिसकेपछि प्रहरीले सुन, विद्युतीय उपकरण, चुरोट तथा लागुऔषधलगायत सामग्री बरामद गरेका घटना सार्वजनिक भएका छन् ।
पछिल्लो घटनामा काठमाडौंको सोह्रखुट्टेस्थित एक होटलबाट तीन किलो थाई गाँजासहित तीन जना विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा म्यानमारकी २९ वर्षीया जिन जिन फाओ तथा भारत उत्तर प्रदेशका बर्कातुलन र युसुफ खान रहेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता दुर्गाराज रेग्मीका अनुसार फाओ म्यानमारबाट गाँजा बोकेर नेपाल हुँदै भारत लैजाने तयारीमा रहेको सूचनाका आधारमा प्रहरीले उनलाई विमानस्थलदेखि नै पछ्याएको थियो। विमानस्थलको जाँच पार गरेपछि उनी होटलसम्म पुगेको र त्यहाँबाट गाँजासहित पक्राउ गरिएको ब्युरोले जनाएको छ ।
यसैगरी, भदौ २९ गते काठमाडौं हुँदै अस्ट्रेलिया पठाउन लागिएको १ हजार २ सय ६० प्याकेट ‘शिखर आइस’ चुरोट बरामद भएको थियो। कार्गोमार्फत उक्त सामग्री बाहिरिएको विषयमा अनुसन्धान भइरहेको छ। सोही दिन गोश्वारा हुलाक कार्यालयमार्फत अस्ट्रेलिया पठाउन लागिएको थप १ सय ५० प्याकेट शिखर चुरोट पनि बरामद गरिएको थियो ।
भदौ ६ गते चीनको ग्वाङडोङबाट चाइना इस्टर्न एयरलाइन्समार्फत काठमाडौं आएका २९ वर्षीय चिनियाँ नागरिक चेन जुनसान ४६ थान आइफोनसहित पक्राउ परेका थिए। विमानस्थल सुरक्षा कार्यालयका अनुसार उनले विभिन्न मोडलका आइफोनसँगै ल्यापटप, पार्टपुर्जा र चुरोट भन्सार तथा सुरक्षा जाँच पार गराएका थिए। विमानस्थलबाट बाहिरिएपछि नेपाल प्रहरीको टोलीले ती सामग्री बरामद गरेको थियो ।
त्यस्तै, साउन ३१ गते दुबईबाट १५० ग्राम सुन बोकेर आएका बंगलादेशी नागरिक मुहम्मद रसेल हल्दार भन्सार क्षेत्र पार गरेपछि पक्राउ परेका थिए। असार ३० र ३१ गते पनि भन्सार क्षेत्र पार गरिसकेका यात्रुबाट १९ थान मोबाइल, २२ थान ल्यापटप, तीन थान आईप्याड र ६६ थान विद्युतीय चुरोट बरामद गरिएको थियो ।
विमानस्थल सुरक्षा कार्यालयको तथ्यांकअनुसार गत माघ १० गतेदेखि हालसम्म भन्सार जाँच पार गरेर बाहिरिएका यात्रुबाट ४ करोड ४१ लाख रुपैयाँभन्दा बढी मूल्यको १ किलो ७ सय २३ ग्राम सुनका गरगहना बरामद भएको छ। यस अवधिमा २ करोड ६१ लाख ८० हजार रुपैयाँभन्दा बढी मूल्यका ल्यापटप, आइफोन तथा मोबाइललगायत विद्युतीय उपकरण र करिब चार किलो चाँदीका गहना पनि बरामद भएको कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयका प्रवक्ता ध्रुवराज विश्वकर्माले प्रचलित नियमअनुसार यात्रुले २५ ग्रामसम्मका सुनका गरगहना ल्याउन पाउने भएकाले सुरुमै सबैलाई नियन्त्रणमा लिन नमिल्ने बताएका छन्। उनका अनुसार विभिन्न व्यक्तिले तोकिएको सीमाभित्र रहेर गरगहना ल्याए पनि पछि बाहिर एकै ठाउँमा जम्मा गर्दा मात्रै तस्करीको स्वरूप देखिन सक्छ ।
चिनियाँ नागरिकबाट बरामद भएको आइफोनका विषयमा आन्तरिक अनुसन्धान भइरहेको पनि भन्सार कार्यालयले जनाएको छ। प्रवक्ता विश्वकर्माका अनुसार प्राविधिक वा मानवीय कमजोरी तथा तस्करीमा संलग्न व्यक्तिले अपनाउने विभिन्न तरिकाका कारण यस्ता घटना हुन सक्ने बताएका छन् ।
विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालका अनुसार भन्सार जाँचअघि रहेको क्षेत्रमा प्रहरीको प्रत्यक्ष पहुँच हुँदैन। भन्सार जाँच पार गरिसकेपछि भने विशेष सूचना, शंकास्पद गतिविधि तथा यात्रुको विवरणका आधारमा प्रहरीले थप जाँच गर्ने गरेको छ ।
विमानस्थलबाट बाहिरिएपछि अवैध सामग्री बरामद भइरहेका घटनाले भन्सार जाँचको प्रभावकारिता, प्राविधिक प्रणाली र सुरक्षा समन्वयबारे प्रश्न उठाएको छ। सम्बन्धित निकायले भने यस्ता घटनामा अनुसन्धान गरी आवश्यक कारबाही अघि बढाउने जनाएको छ ।