मानव तस्करी तथा ठगीको अभियोगमा नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर–१ का क्षेत्रीय सभापति ताराप्रसाद खनाललाई प्रहरीले पक्राउ गरेको छ ।
मानव बेचबिखन अनुसन्धान ब्युरोले खनाललाई सोमबार काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरेको हो । ब्युरोका प्रमुख एसएसपी दिपेन्द्र जिसीका अनुसार खनालले विभिन्न देशमा रोजगारीमा पठाउने बहानामा करोडौँ ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार खनालले वैदेशिक रोजगारीको प्रलोभन देखाएर सर्वसाधारणसँग करोडौँ रकम ठगी गर्दै आएका थिए । उनलाई पक्राउ गर्ने क्रममा २ करोड ७० लाख रुपैयाँको चेक समेत बरामद गरिएको छ । ठगीमा संगठित समूह संलग्न रहेको आशंका गर्दै प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौं जिल्ला अदालतले उनलाई थुनामा राखेर अनुसन्धान गर्न ५ दिनको म्याद दिएको छ । प्रहरीले खनालसँग सम्बन्धित अन्य पीडितहरूलाई पनि प्रहरी सम्पर्कमा आउन अनुरोध गरेको छ । यसअघि पनि मानव तस्करी तथा ठगीसम्बन्धी उजुरी परेपछि खनालमाथि अनुसन्धान भइरहेको थियो ।
प्रहरीले उनको मोबाइल विवरण, बैंक कारोबार तथा अन्य कागजातहरू पनि संकलन गरिरहेको छ । प्रारम्भिक अनुसन्धानका आधारमा खनालको संलग्नता मानव तस्करीका ठूला गिरोहहरूसँग हुन सक्ने अनुमान गरिएको छ ।