विदेह नगरपालिकाका मेयर बेचन दासका छोरा रामभजन साहबाट कुटिएका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार साहलाई कार्यालय प्रवेशमा रोक लगाइएको छ ।
गत माघ २७ गते लोकसेवा आयोगको सिफारिसमा आएकी शिक्षिकालाई हाजिर गराएको निहुँमा मेयरका छोरा साहले प्रशासकीय अधिकृतलाई कुटपिट गरेका थिए । सो घटनाबारे गुनासो गर्न माघ २८ मा मेयरसमक्ष पुगेका अधिकृत साह उल्टै धम्की खेप्न पुगे । त्यसपछि उनी कार्यालय जान सकेका छैनन् ।
प्रशासकीय अधिकृत साहले माघ २८ मै ‘झोले कर्मचारी’ भन्दै ८३ जनालाई कारबाही गरेका थिए । उनले करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई बर्खास्त गर्नुका साथै केही स्थायी कर्मचारीको ग्रेड रोक्का गर्ने निर्णय गरेका थिए । कारबाहीमा परेका कर्मचारीहरू आन्दोलित छन् । उनीहरू नै प्रशासकीय अधिकृत साहलाई आज कार्यालय प्रवेश गर्न दिएनन् । उनलाई कार्यालय प्रवेश गराउन र शान्ति सुरक्षा दिन नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको ठूलो उपस्थिति रहेको थियो ।
नगरपालिकाको मूल ढोकामै कर्मचारीहरू आन्दोलन गरिरहेका कारण आफूभित्र प्रवेश गर्न नपाएको प्रशासकीय अधिकृत साहले बताए । उनले भने, ‘अदालतको आदेशपछि प्रमुख जिल्ला अधिकारीले सुरक्षा दिनुभयो । तर, झोले कर्मचारीहरूलाई हटाएपछि उनीहरू आन्दोलन गरिरहेका छन् । म जबर्जस्ती नगरिकन नगरपालिकाको पवित्र माटोलाई ढोकेर टीका लगाएर फर्किएँ ।’
नगरपालिकामा काम गर्ने वातावरण बनाउन र सुरक्षा दिन नसकेको भन्दै जिल्ला प्रशासन कार्यालयलाई विपक्षी बनाएर प्रशासकीय अधिकृत साहले उच्च अदालत जनकपुरमा रिट हालेका छन् । अदालतले फाल्गुन १३ गते दुवै पक्षलाई छलफलका लागि बोलाउने निर्णय गरेको छ । साथै, कार्यालयमा प्रशासकीय अधिकृत साहलाई पदीय दायित्वअनुसार कामकाज गर्न कुनै अवरोध नगरियोस् भन्ने आदेश विपक्षी पक्षलाई जारी गरेको छ ।