आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।
ओमानको मस्कटमा जारी शृंखलामा दुवै टोलीले पहिलो खेलमा क्यानडालाई पराजित गर्दै विजयी सुरुवात गरेका छन् । ओमानले शुक्रबार क्यानडालाई ४१ रनले हराएको थियो भने नेपालले आइतबार २१ रनको जित निकालेको थियो । रोहित पौडेलको शतकीय प्रदर्शनमा नेपालले क्यानडालाई पराजित गर्दै अंकतालिकामा छैटौँ स्थानमा उक्लिएको हो ।
लिग–२ को अंकतालिकामा ओमान २९ खेलबाट ३३ अंक जोड्दै चौथो स्थानमा छ । पाँचौँ स्थानमा रहेको नामिबियाभन्दा ओमान दुई अंकले अगाडि छ । ओमानले सात खेल खेल्न बाँकी छ भने नामिबियाले एक खेल मात्र खेल्न बाँकी छ । नेपालविरुद्ध जित निकाल्न सके ओमानलाई शीर्ष चारमा आफ्नो स्थान सुरक्षित गर्न सहज हुनेछ ।
नेपालले ३३ खेलबाट २६ अंक जोडेको छ भने क्यानडा ३४ खेलबाट २५ अंकसहित सातौँ स्थानमा छ । मंगलबार ओमानलाई पराजित गर्न सके नेपालले क्यानडासँगको अंकदूरी तीन पुर्याउनेछ ।
ओमानसँगको खेलपछि नेपालले लिग–२ मा थप दुई खेल खेल्न बाँकी रहनेछ। क्यानडाले पनि दुई खेल खेल्न बाँकी छ । नेपालले बाँकी तीन खेलमध्ये कम्तीमा एक खेल जितेमा आठौँ स्थानमा रहेको यूएईले अंकमा नेपाललाई भेट्टाउन सक्ने छैन । यूएईले ३२ खेलबाट १९ अंक जोडेको छ ।
त्यसैले ओमानविरुद्धको खेल नेपालका लागि अंकतालिकामा आफ्नो स्थिति थप मजबुत बनाउने महत्त्वपूर्ण अवसर हुनेछ ।
भिडियाे रिपाेर्ट