भारतको ककरोच जनता पार्टी (सीजेपी) का सह-संयोजक सौरभ दास र आशुतोष रांकालाई दिल्ली प्रहरीले फेरि नियन्त्रणमा लिएको छ । जन्तरमन्तरतर्फ अगाडि बढ्ने क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
यसअघि असोज २४ गते दिल्ली विमानस्थलबाट सीजेपीका संस्थापक अभिजित दीपकेसहित सह-संयोजक सौरभ दास र आशुतोष रांकालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। पछि उनीहरूलाई छाडिएको थियो ।
सीजेपीका संस्थापक अभिजित दीपकेका अनुसार मंगलबार बिहान जन्तरमन्तरमा प्रवेश गर्न खोजिरहेका पार्टीका नेता तथा कार्यकर्तालाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा आशुतोष रांका, सौरभ दास, अजिंक्य शिन्देलगायत पार्टीका अन्य समर्थकहरू रहेको उनले बताएका छन् ।
सीजेपीले भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई पदबाट हटाउनुपर्ने माग अघि सारेको छ। मतदाता सूचीमा नाम थप्ने र हटाउने प्रक्रियालाई पारदर्शी बनाउनुपर्ने मागसहित पार्टीले प्रदर्शन गर्दै आएको छ ।
पार्टीले मुख्य निर्वाचन आयुक्तलाई पदबाट नहटाएसम्म आन्दोलन जारी राख्ने जनाएको छ। मतदाता सूचीसम्बन्धी प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्नुपर्ने मागसहित भइरहेको प्रदर्शनका क्रममा पार्टीका नेता तथा कार्यकर्ता पटक–पटक प्रहरी नियन्त्रणमा परेका छन् ।