सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा न्यूनतम समर्थन मूल्यमा १५ हजार मेट्रिक टन धान खरिद गर्ने भएको छ। धान खरिदका लागि सरकारले ६७ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने प्रक्रिया अघि बढाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय भइरहेको जनाएको छ ।
कृषिमन्त्री गीता चौधरीको निजी सचिवालयका अनुसार धान खरिद प्रक्रिया प्रारम्भ भइसकेको छ। आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मोटा तथा मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ८६० रुपैयाँ तोकिएको छ ।
सरकारले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्दा किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने र बजारमा मूल्यसम्बन्धी अनिश्चितता कम हुने मन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सरकारी खरिद प्रक्रियाले किसानलाई बजार मूल्यमा हुने उतारचढावबाट राहत पुग्ने अपेक्षा गरिएको छ। तर, निर्धारित परिमाणमा धान खरिद प्रक्रिया कति प्रभावकारी रूपमा कार्यान्वयन हुन्छ भन्ने विषयले किसानले पाउने लाभ निर्धारण गर्नेछ ।