दशैं, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर ५० हजार ४५८ जना प्रहरी परिचालन गर्ने भएको छ। चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, ठगी, जुवातास, अनलाइन अपराध तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेका अनुसार चाडपर्वका समयमा नागरिकको जनधनको सुरक्षा, धार्मिक तथा सांस्कृतिक आस्थाको सम्मान र महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकको सुरक्षालाई प्राथमिकतामा राखिएको छ ।
प्रहरीले चाडपर्वका बेला हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै योजनाबद्ध प्रहरी परिचालन, नियमित अनुगमन र प्रविधिमा आधारित निगरानीलाई प्राथमिकता दिएको जनाएको छ ।
मधेश प्रदेशमा ७ हजार २३० प्रहरी परिचालन
चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र सातवटै प्रदेश प्रहरी कार्यालयमार्फत कुल ५० हजार ४५८ प्रहरी परिचालन हुनेछन् ।
प्रहरीका अनुसार काठमाडौं उपत्यका र विभिन्न प्रदेशमा परिचालन हुने जनशक्तिको विवरण यस्तो छ ।
काठमाडौं उपत्यका ७ हजार ६६८
कोशी प्रदेश ८ हजार १३३
मधेश प्रदेश ७ हजार २३०
बागमती प्रदेश ४ हजार ४९९
गण्डकी प्रदेश : ५ हजार १८८
लुम्बिनी प्रदेश ७ हजार ९२१
कर्णाली प्रदेश ५ हजार ३१४
सुदूरपश्चिम प्रदेश ४ हजार ५०५
प्रहरीले धार्मिक तथा सांस्कृतिक कार्यक्रमका क्रममा हुन सक्ने झैझगडा, लुटपाट र अन्य अप्रिय घटना रोक्न विशेष निगरानी गर्ने जनाएको छ। खुला सीमाबाट अवैध हातहतियार, पटका, विस्फोटक पदार्थ र लागुऔषधको ओसारपसार तथा तस्करी नियन्त्रणमा पनि सुरक्षा व्यवस्था कडा पारिनेछ ।
देशभर ४०८ यात्रु सहायता कक्ष स्थापना
चाडपर्वका बेला सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने भएकाले यात्रु तथा सडक सुरक्षालाई ध्यानमा राखेर देशभर ४०८ वटा यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ ।
यी सहायता कक्षमा १ हजार १६५ प्रहरी परिचालन गरिनेछ। त्यस्तै, अन्तर्राष्ट्रिय सीमानाकाका १०८ स्थानमा हेल्प डेस्क स्थापना गरी थप ७०५ प्रहरी परिचालन गरिएको छ ।
यात्रु सहायता कक्षमार्फत यात्रुलाई आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउने, हराएका वा भेटिएका व्यक्ति तथा सामानबारे समन्वय गर्ने, महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई विशेष सहायता प्रदान गर्ने तथा यात्रुका गुनासा तत्काल सम्बन्धित प्रहरी कार्यालयमा पुर्याउने व्यवस्था मिलाइएको छ।
ड्रोन, सीसीटीभी र तालिमप्राप्त कुकुरबाट निगरानी
प्रहरीले चाडपर्वको सुरक्षा व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको छ। सुरक्षा संवेदनशील क्षेत्रको निगरानी गर्न सीसीटीभी, बडीवर्न क्यामेरा, ड्रोन र तालिमप्राप्त कुकुर परिचालन गरिनेछ ।
प्रहरी सञ्चार प्रणालीमार्फत तत्काल सूचना आदानप्रदान गर्नुका साथै सामाजिक सञ्जालमा प्रवाह हुने डिजिटल सूचनाको विश्लेषण गरेर आवश्यक सुरक्षा व्यवस्था मिलाइने प्रवक्ता काफ्लेले बताए ।
बैंक तथा वित्तीय संस्था, बसपार्क, सार्वजनिक यातायात केन्द्र, विमानस्थल, धार्मिक तथा पर्यटकीय स्थल, मनोरञ्जन क्षेत्र, मुख्य सडक र चोक, सहरका प्रवेश तथा निकास नाका र सुनचाँदी तथा बहुमूल्य वस्तुको कारोबार हुने क्षेत्रमा विशेष निगरानी गरिनेछ ।
लामो दूरीका सवारीसाधनको जाँचमा कडाइ
चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले लामो दूरीका सार्वजनिक सवारीसाधनको जाँचमा पनि कडाइ गरिने प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधनका चालकको अनुमतिपत्र, मादक पदार्थ तथा लागुपदार्थ सेवन, सिट क्षमताअनुसार यात्रु राखे–नराखेको र सवारीसाधनको यान्त्रिक परीक्षणसम्बन्धी प्रमाणपत्र जाँच गरिनेछ ।
लामो दूरीका सवारीसाधनमा दुई जना चालक भए–नभएको विषय पनि ट्राफिक कम्युनिकेसन एपको प्रयोग गरी परीक्षण गरिनेछ ।
यसका साथै स्थानीय समुदाय, व्यवसायी, यातायात व्यवसायी, बैंक तथा वित्तीय संस्था र अन्य सरोकारवाला निकायसँग समन्वय गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउने प्रहरीको योजना छ ।
अनलाइन ठगीबाट जोगिन प्रहरीको आग्रह
चाडपर्वका बेला आकर्षक उपहार तथा छुटको प्रलोभन देखाएर नक्कली अनलाइन सपिङ, बैंकिङ ठगी र डिजिटल अपराध हुन सक्ने भन्दै प्रहरीले नागरिकलाई सचेत रहन आग्रह गरेको छ ।
कसैले माग्दैमा आफ्नो ओटीपी, पिन, पासवर्ड वा अन्य गोप्य बैंकिङ विवरण उपलब्ध नगराउन प्रहरीले अनुरोध गरेको छ। चाडपर्वको समयमा हुन सक्ने चोरी, ठगी, डकैती, जुवातास, बेटिङ, नक्कली नोटको कारोबार र अवैध हुण्डी नियन्त्रण गर्नसमेत विशेष सुरक्षा रणनीति अपनाइएको प्रहरीले जनाएको छ ।
नागरिक–प्रहरी सहकार्यलाई प्राथमिकता दिँदै सम्भावित अपराधबारे समयमै सूचना दिन र शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन प्रहरीले आग्रह गरेको छ ।