रसुवा बाढीबाट विस्थापित भएका नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीका स्थानीयवासीले यस वर्षको दशैं–तिहार पनि टेन्टमै बिताउनुपर्ने भएको छ। बाढीले घरबारबाट विस्थापित बनाएको लामो समय बितिसक्दा पनि स्थायी बसोबासको टुंगो नलागेपछि उनीहरू कठिन परिस्थितिमा दिन बिताइरहेका छन् ।
बेत्रावतीका नारायणमान डंगोल गत २४ भदौदेखि स्वारडाँडास्थित टेन्टमा बसिरहेका छन्। बाढी आएको दिनदेखि नै आफूहरूको जीवन अस्तव्यस्त बनेको बताउँदै उनले टेन्टको बसाइ कष्टकर भएको सुनाए ।
‘दशैं आयो, टेन्टको बसाइ छ। दिउँसो टेन्टमा गर्मी हुन्छ, बेलुका शीत झर्छ,’ उनले भने ।
बेत्रावतीका करिब २५ घरधुरी स्वारडाँडामा टेन्ट टाँगेर बसिरहेका छन्। उनीहरू सामूहिक रूपमा खाना पकाएर गुजारा चलाइरहेका छन्। दाल, चामल, नुन, तेल र भाँडाकुँडाको व्यवस्था भए पनि घरजस्तो सुरक्षित बसोबास नहुँदा चाडपर्वको खुसीसमेत खोसिएको स्थानीयको गुनासो छ।
‘सामूहिक रूपमा पकाएर खाइरहेका छौँ। दशैं–तिहार रुँदै टेन्टमै मनाउनुपर्ने भयो,’ डंगोलले भने ।
१५ हजार रुपैयाँले कोठा भाडामा लिन नसक्नेको समस्या
रसुवा बाढीबाट विस्थापित नुवाकोटका धेरैजसो स्थानीयले होल्डिङ सेन्टर छाडिसकेका छन्। सरकारले उपलब्ध गराएको १५ हजार रुपैयाँ लिएर कतिपय अन्यत्र बस्न गए पनि आर्थिक अभाव र थातथलो छाड्न नसक्नेहरू अझै टेन्टमै बस्न बाध्य छन् ।
स्थानीय शशि डंगोलका अनुसार कतिपय परिवार आफन्तकहाँ बसिरहेका छन् भने केही स्वारडाँडाको टेन्टमा छन्। मासिक १५ हजार रुपैयाँले कोठा भाडामा लिएर बस्न नसक्नेहरूका लागि तत्काल अर्को विकल्प छैन ।
‘गाउँ छोडेर जान सकिँदैन। आफन्तकोमा जाने ठाउँ छैन। बसोबासको प्याकेज नआएसम्म टेन्टमै बस्ने हो,’ उनले भने ।
उनका अनुसार तत्काल खाद्यान्नको अभाव नभए पनि स्थायी बसोबासको चिन्ता बढ्दै गएको छ। चिसो मौसम सुरु हुन लागेकाले सरकारले पुनर्वासको व्यवस्था छिटो गर्नुपर्ने स्थानीयको माग छ ।
बेत्रावतीका कतिपय बासिन्दा बटार र काठमाडौंमा बसिरहेका छन्। ईश्वर थापा र इन्द्रमाया डंगोलजस्ता स्थानीयको बसोबाससमेत एउटै ठाउँमा स्थिर छैन। उनीहरू कहिले बटार त कहिले स्वारडाँडा पुगेर दिन बिताइरहेका छन् ।
नुवाकोटमा पनि टेन्टमै रसुवाका विस्थापित
जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार बेत्रावतीका करिब २५ घरधुरी अझै टेन्टमा छन्। रसुवाबाट विस्थापित भएका ३८० भन्दा बढी मानिस पनि विदुर नगरपालिका–५ मा टेन्टमा बसिरहेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए ।
उनका अनुसार विस्थापितलाई राहत र टेन्टको व्यवस्था गरिएको छ। उनीहरू नुवाकोटमै बस्ने वा रसुवा फर्कने भन्ने विषयमा छलफल भइरहेको छ। प्रभावित परिवारले कहाँ बस्ने भन्ने निर्णय गर्न बाँकी रहेको प्रशासनले जनाएको छ ।
रसुवामा पाँच होल्डिङ सेन्टर, २१८ जना आश्रित
रसुवामा अहिले पनि पाँचवटा होल्डिङ सेन्टर सञ्चालनमा छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीबाट विस्थापित २१८ जना त्यहाँ बसिरहेका छन्। सिड्स, भीमसेनस्थान माध्यमिक विद्यालय, कोमेन माध्यमिक विद्यालय, लिंग्लिंग कानिग छोलिंग गुम्बा र गणेश माध्यमिक विद्यालयमा उनीहरूलाई राखिएको छ ।
प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार नीलकण्ठ माध्यमिक विद्यालयलाई छात्रावासका रूपमा पनि प्रयोग गरिएको छ, जहाँ बाढीबाट विस्थापितसहितका विद्यार्थीलाई राखिएको छ ।
विस्थापितका लागि अस्थायी तथा स्थायी बसोबासको प्रक्रिया अघि बढाइएको प्रशासनले जनाएको छ। स्थानीय तहले बसोबासका लागि ठाउँसमेत प्रस्ताव गरेको र दशैंपछि कहाँ व्यवस्थापन गर्ने भन्ने विषय टुंगो लगाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।
बाढीबाट विस्थापित परिवारका लागि राहत र अस्थायी आश्रयको व्यवस्था भए पनि सुरक्षित तथा स्थायी बसोबासको टुंगो लाग्न बाँकी छ । चाडपर्वको मुखमा टेन्टमै जीवन बिताउन बाध्य परिवारको प्रश्न छ— कहिलेसम्म अस्थायी आश्रयमै बस्नुपर्ने र स्थायी पुनर्वासको व्यवस्था कहिले हुने ?