दसैँलाई लक्षित गरी चीनको तिब्बत हुँदै कोरला नाकाबाट नेपाल भित्र्याइएका साढे सात सयभन्दा बढी विद्युतीय सवारीसाधन (ईभी) मुस्ताङमै रोकिएका छन् । बाढीपहिरो र नदी कटानका कारण बेनी–जोमसोम–कोरला सडक क्षतिग्रस्त भई हिलाम्मे र जोखिमपूर्ण बनेपछि सवारीसाधन गन्तव्यसम्म पुर्याउन समस्या भएको हो ।
लोमान्थाङ गाउँपालिका–४ स्थित नेचुङको मुस्ताङ भन्सार कार्यालय, कोरला नाका क्षेत्र तथा आसपासका विभिन्न स्थानमा ती सवारीसाधन रोकिएका छन् । कोरला नाका तथा भन्सार कार्यालयबाहेक लो–घेकर दामोदरकुण्ड गाउँपालिका–१, चराङमा ४०, जोमसोमस्थित ट्राफिक कार्यालयमा ३५, जोमसोम बसपार्कमा १२५ र घाँसामा २५ वटा ईभी रोकिएका छन् ।
मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुँडालका अनुसार भन्सार जाँचपास भइसकेका सवारीसाधनसमेत सडकको अवस्थाका कारण खरिदकर्ताले रोकेर राखेका छन् । सडकमा हिलो जमेको र सवारीसाधन चलाउँदा क्षति पुग्न सक्ने जोखिम रहेकाले ईभी गन्तव्यतर्फ लैजान नसकिएको उनले बताए । चीनबाट सवारीसाधन आउने क्रम जारी रहेको र भन्सार राजस्वमा समेत ईभीको ठूलो हिस्सा रहेको उनको भनाइ छ ।
कोरला नाका कन्टेनर व्यवस्थापन समितिका उपाध्यक्ष घरचुङ गुरुङका अनुसार जोमसोमदेखि कोरला नाकासम्मको ११९ किलोमिटर सडकखण्डको अवस्था तुलनात्मक रूपमा सामान्य छ । तर, जोमसोम–बेनी खण्डको ७९ किलोमिटरमध्ये करिब २२ किलोमिटर क्षेत्रमा साना सवारीसाधन हिलोमा फस्ने जोखिम छ । नयाँ सवारीसाधनमा क्षति पुग्न सक्ने भएकाले खरिदकर्ताले तिनलाई गन्तव्यतर्फ लैजान रोकेको उनले बताए ।
पर्वतको कुश्मा नगरपालिका–१, पाङदेखि म्याग्दीको बेनी हुँदै चीनको सीमामा रहेको कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकको कुल लम्बाइ करिब २०२ किलोमिटर छ । सडकको जोखिमपूर्ण खण्डमा सहज आवागमन हुन नसकेपछि भन्सारबाट जाँचपास गरिएका सवारीसाधनसमेत रोकिएका हुन् ।
समुद्री सतहबाट चार हजार ६५० मिटर उचाइमा रहेको कोरला नाकाबाट करिब १४ किलोमिटर तल रहेको भन्सार कार्यालयमा सवारीसाधन ल्याएर जाँचपास गरिन्छ । त्यसपछि बेनी–जोमसोम–कोरला सडक हुँदै पोखरालगायतका गन्तव्यमा पुर्याउने गरिन्छ ।
सडक एकतर्फी रूपमा सञ्चालनमा रहे पनि हिलो र जोखिमका कारण सवारीसाधन गन्तव्यसम्म पुर्याउन नसकिएको हो । दसैँलाई लक्षित गरी ल्याइएका ईभी करिब दुई सातादेखि रोकिएका छन्। नेपालका ईभी बिक्रेताका भन्सार प्रतिनिधिहरूका अनुसार अब दसैँपछि मात्रै ती सवारीसाधन लैजाने तयारी छ ।
कालीगण्डकी सडक आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार बाढीपहिरो र नदी कटानले क्षति पुर्याएका सडकमा नयाँ ट्र्याक खोलेर तत्काल एकतर्फी आवागमन सञ्चालनमा ल्याइएको छ । तर, सडकलाई पूर्ण रूपमा सहज बनाउन अझै समय लाग्ने उनले बताए ।
चाडपर्वलाई लक्षित गरी भन्सारबाट ल्याइएका सामान बोकेका कन्टेनर, स्याउलगायत सामग्री तथा मुस्ताङमा रहेका सवारीसाधन पठाउने काम सकिएकाले अब सडक मर्मतका लागि समयतालिका सार्वजनिक गरेर सडक बन्द गर्नुपर्ने आयोजना प्रमुख शर्माको भनाइ छ । मुस्ताङ भन्सार कार्यालयमा ठूला कन्टेनरको जाँचपास भइसकेको र ती कन्टेनर फर्किसकेको उनले जानकारी दिए ।
सडकको दयनीय अवस्थाका कारण दसैँलाई लक्षित गरी ल्याइएका नयाँ विद्युतीय सवारीसाधन समयमै बजारसम्म पुर्याउन नसक्दा बिक्रेता तथा खरिदकर्ता प्रभावित भएका छन् । सडक मर्मतमा ढिलाइ भएमा सवारीसाधनको ढुवानी र आपूर्तिमा थप समस्या हुन सक्ने देखिएको छ ।