सार्वजनिक यातायातका यात्रुलाई राजमार्गका होटल तथा रेस्टुरेन्टमा बासी, सडेगलेको र महँगो खाना खुवाउने गरेको गुनासो बढेपछि सरकारले कडाइ गर्ने भएको छ । यातायात व्यवस्था विभागले अखाद्य खाना खुवाएर यात्रुलाई बिरामी पारेमा सम्बन्धित होटल सञ्चालकसँगै सवारी चालकलाई समेत कारबाही गर्ने चेतावनी दिएको छ ।
विभागले सार्वजनिक सवारीका चालक, होटल तथा रेस्टुरेन्ट व्यवसायी र यात्रुका नाममा सूचना जारी गर्दै यात्रुलाई स्वच्छ, सुरक्षित र गुणस्तरीय खाना उपलब्ध गराउन आग्रह गरेको हो ।
विभागका अनुसार यात्रुवाहक सवारीसाधन रोकिने राजमार्गका होटल तथा रेस्टुरेन्टमा सरसफाइको कमी, बासी र झिँगा भन्किएका खाना बिक्री तथा तोकिएभन्दा बढी मूल्य असुल्ने गरेको गुनासो आएपछि पूर्वाधार विकास मन्त्रालयमा सरोकारवाला निकायबीच बैठक बसेको थियो। सोही बैठकको निर्णयअनुसार विभागले सूचना जारी गरेको जनाएको छ ।
सफा र स्वच्छ खाना पाइने स्थानमा मात्रै गाडी रोक्न निर्देशन
विभागका निर्देशक मणिराम भुसालले मंगलबार जारी गरेको सूचनामा सार्वजनिक सवारीका चालकलाई सफा, स्वच्छ र गुणस्तरीय खाना पाइने स्थानमा मात्रै गाडी रोक्न निर्देशन दिइएको छ ।
सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट ‘खाद्य स्वच्छताको स्टिकर’ टाँसिएका होटल तथा रेस्टुरेन्टलाई प्राथमिकता दिन पनि चालकहरूलाई आग्रह गरिएको छ ।
राजमार्गका होटल तथा रेस्टुरेन्टको सम्बन्धित निकायले सूक्ष्म निगरानी गरिरहेको विभागले जनाएको छ। होटलमा उपलब्ध खाजा, नास्ता वा खानाका कारण यात्रु बिरामी भएको पाइएमा सम्बन्धित सवारी चालक र होटल सञ्चालकलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने विभागको चेतावनी छ ।
खाना अस्वच्छ वा मूल्यमा ठगी भए कहाँ उजुरी गर्ने ?
विभागले खाना गुणस्तरहीन भएको, अस्वच्छ खाना दिइएको वा मूल्यमा ठगी भएको महसुस गरेमा यात्रुलाई तत्काल सम्बन्धित निकायमा उजुरी गर्न आग्रह गरेको छ ।
यात्रुले अस्वच्छ खाना वा मूल्यमा ठगी भएको पाइएमा नेपाल प्रहरीको टोल–फ्री हेल्पलाइन नम्बर १०० मा फोन गरेर जानकारी गराउन सक्नेछन् ।
त्यसैगरी सम्बन्धित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय वा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र त्यसअन्तर्गतका नजिकका कार्यालयमा सम्पर्क गरेर पनि उजुरी दिन सकिने विभागले जनाएको छ ।
राजमार्गमा यात्रा गर्ने यात्रुको स्वास्थ्य र उपभोक्ता अधिकार संरक्षण गर्न होटल व्यवसायीले खाद्य स्वच्छता कायम गर्नुपर्ने तथा सवारी चालकले पनि यात्रुलाई सुरक्षित र गुणस्तरीय खाना उपलब्ध हुने स्थानमा मात्रै गाडी रोक्नुपर्ने विभागको भनाइ छ ।