काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने प्रदायकमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।
इन्टरनेट सेवाको शुल्क बढेको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि प्राधिकरणले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । प्राधिकरणका अनुसार हालसम्म इन्टरनेट तथा इमेल सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने कुनै प्रस्ताव प्राप्त भएको छैन भने शुल्क बढाउन स्वीकृतिसमेत दिइएको छैन ।
प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकले सेवा उपलब्ध गराएबापत लिने शुल्क उचित र मनासिब हुनुपर्ने जनाएको छ । प्राधिकरणको निर्देशिकाअनुसार सेवा प्रदायकले शुल्क निर्धारण गरी लागू हुने मितिसमेत उल्लेख गरेर कम्तीमा तीन महिनाअघि स्वीकृतिका लागि प्रस्ताव पेस गर्नुपर्ने व्यवस्था रहेको छ ।
त्यस्तै, प्राधिकरणबाट स्वीकृत शुल्क दर सार्वजनिक रूपमा प्रकाशन गर्नुपर्ने व्यवस्था पनि रहेको छ । पूर्वस्वीकृतिबिना शुल्क वृद्धि गर्ने, स्वीकृत दरभन्दा बढी रकम असुल्ने तथा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने कार्य नियमविपरीत हुने प्राधिकरणले स्पष्ट पारेको छ ।
प्राधिकरणले प्रचलित कानुन र नियमविपरीत कार्य गर्ने सेवा प्रदायकमाथि दूरसञ्चार ऐन तथा नियमावलीबमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।
प्राधिकरणको यो स्पष्टोक्तिसँगै इन्टरनेट सेवा प्रदायकले उपभोक्ताबाट शुल्क असुल गर्दा स्वीकृत दर र प्रचलित कानुनी व्यवस्थाको पालना गर्नुपर्ने भएको छ ।