प्रहरीले काठमाडौंमा दुई राउन्ड हवाई फायर गरेर ३०० ग्राम खैरो हेरोइन (ब्राउन सुगर) सहित बीरगंजका एक जनालाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौंको तारकेश्वर नगरपालिका–४ बाट पर्साको वीरगन्ज महानगरपालिका–३१ निवासी ४१ वर्षीय बसरुदिन मियाँलाई पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार भारतबाट बीरगंज नाका हुँदै काठमाडौं उपत्यकामा लागूऔषध आपूर्ति गर्ने गिरोहको पहिचान गरी निगरानी गर्ने क्रममा मंगलबार मियाँ शंकास्पद अवस्थामा फेला परेका थिए ।
प्रहरीले उनलाई रोकेर जाँच गर्न खोज्दा प्रहरीमाथि आक्रमण गरी भाग्न खोजेपछि चेतावनीस्वरूप दुई राउन्ड हवाई फायर गरेर नियन्त्रणमा लिइएको ब्यूरोले जनाएको छ ।
पक्राउ परेका मियाँको साथबाट ३०० ग्राम खैरो हेरोइन र एउटा मोबाइल बरामद गरिएको छ ।
ब्यूरोका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा मियाँले पछिल्लो तीन महिनामा पाँचदेखि छ पटकसम्म काठमाडौं उपत्यकामा खैरो हेरोइन आपूर्ति गरेको खुलेको छ। प्रत्येक पटक करिब २०० ग्रामका दरले लागूऔषध आपूर्ति गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको ब्यूरोले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।