पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी आज चीन भ्रमणमा जाँदैछिन् । चीनमा आयोजना हुने ग्लोबल गभर्नेन्स फोरममा विशिष्ट अतिथिका रूपमा सहभागी हुन उनी आज दिउँसो १२ः३० बजे चाइना साउदर्न एयरलाइन्सबाट चीनको गोन्जाओ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
भण्डारीका स्वकीय सचिव राजकुमार राईका अनुसार उनी चीनको हेबेई प्रान्तस्थित सियोङआनमा अक्टोबर २३ देखि २५ सम्म आयोजना हुने ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुनेछिन्। उक्त फोरमलाई उनले सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ ।
भण्डारीसँगै डा. कैलाश कुमार भण्डारी र सोम राई पनि चीन जानेछन्। नेकपा एमालेको वरिष्ठ नेता बनेपछि भण्डारीको यो पहिलो विदेश भ्रमण हो।
चाइनिज पिपल्स इन्स्टिच्युट अफ फरेन अफेयर्स (सीपीआईएफए) ले आयोजना गर्ने उक्त फोरममा विश्वका विभिन्न देशका राजनीतिक नेता, कूटनीतिज्ञ, व्यवसायी तथा सञ्चारमाध्यमका प्रतिनिधिहरू सहभागी हुनेछन् ।
फोरममा बदलिँदो विश्व व्यवस्थाका बीच अन्तर्राष्ट्रिय सहकार्य, विश्वव्यापी शासन प्रणालीमा सुधार, साइबर क्षेत्र तथा अन्तरिक्षको शासनसँग सम्बन्धित चुनौती र कृत्रिम बुद्धिमत्ता (एआई) को सुरक्षित प्रयोगलगायत विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।