बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया उद्योगमा आगलागी हुँदा करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
बिहीबार बिहान करिब १:३० बजे उद्योग परिसरमा रहेको फर्नेस आयल ट्यांकीमा सर्ट सर्किटका कारण आगलागी भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्द, बाँकेबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। नेपाल प्रहरी, स्थानीयवासी तथा दमकलको सहयोगमा बिहान करिब २:३० बजे आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आगलागी भएको ट्यांकीको क्षमता २ लाख लिटर रहेको बताइएको छ। घटनाबाट करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भए पनि क्षतिको यकिन विवरण आउन बाँकी छ ।
आगलागीबाट कुनै मानवीय क्षति नभएको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।