नेपालीहरूका महान् चाड विजयादशमी, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै बाराको सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सीमा क्षेत्रमा हुन सक्ने अवैध गतिविधि, चोरी–तस्करी तथा आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बाराले सुरक्षा निगरानी बढाएको हो ।
चाडपर्वका समयमा सीमावर्ती क्षेत्रमा मानिसहरूको आवतजावत बढ्ने र अवैध सामानको ओसारपसार हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै नियमित गस्ती, सीमा निगरानी, चेकजाँच तथा विशेष सुरक्षा परिचालनलाई तीव्रता दिइएको सशस्त्र प्रहरीले जनाएको छ ।
सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने, भन्सार छली तथा चोरी–तस्करी नियन्त्रण गर्ने र सीमापार अपराध रोकथाम गर्ने उद्देश्यले नेपाल–भारत सीमामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) सँगको समन्वयमा संयुक्त गस्तीसमेत सञ्चालन भइरहेको छ ।
संयुक्त गस्तीका क्रममा सीमा स्तम्भको अनुगमन, दशगजा क्षेत्रको निरीक्षण तथा शंकास्पद गतिविधिमाथि निगरानी बढाइएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बाराले मातहतका सीमा सुरक्षा गुल्म तथा बोर्डर आउट पोस्ट (बीओपी) हरूलाई थप सतर्क र क्रियाशील रहन निर्देशन दिएको छ । सीमा क्षेत्रमा हुन सक्ने अवैध गतिविधि नियन्त्रण गर्न आवश्यक सुरक्षा प्रबन्धसमेत मिलाइएको गणले जनाएको छ ।
सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन स्थानीय नागरिक, सरोकारवाला निकाय तथा भारतीय सुरक्षा निकायसँग समन्वय र सहकार्यलाई निरन्तरता दिइएको छ ।
चाडपर्वका बेला सीमा क्षेत्रमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्दै नागरिकको सुरक्षा सुनिश्चित गर्न निगरानी र सुरक्षा परिचालनलाई प्रभावकारी बनाइएको सशस्त्र प्रहरीले जनाएको छ ।