सिरहाका विभिन्न सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले ७ लाख ७२ हजार ६२० रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ ।
जिल्लाका विभिन्न सीमा क्षेत्रमा गरिएको कारबाहीका क्रममा मोटरसाइकल, मदिरा, किराना सामान, कस्मेटिक सामग्री तथा कपडालगायतका सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गरिएका सामानको अनुमानित मूल्य ७ लाख ७२ हजार ६२० रुपैयाँ रहेको छ। बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
सिरहामा सीमा क्षेत्रबाट हुने अवैध सामान ओसारपसार नियन्त्रण तथा सीमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन निगरानी र चेकजाँचलाई निरन्तरता दिइएको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाले बताए ।
सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी तथा चेकजाँचलाई थप प्रभावकारी बनाउँदै आएको उनले जानकारी दिए ।