भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिई रकम असुल्न खोजेको आरोपमा धनुषा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–२० का २३ वर्षीय सुकन महतो, २६ वर्षीय सन्तोषकुमार दास, २२ वर्षीय पनेशकुमार महतो र ३० वर्षीय सुजित महतो रहेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी निरीक्षक ओमप्रकाश खनालका अनुसार आरोपितहरूले एक बालिका र एक युवकमाथि दुर्व्यवहार गरी भिडियो बनाएका थिए। उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिँदै उनीहरूले पीडितका अभिभावकबाट मोबाइल बैंकिङमार्फत छ हजार रुपियाँसमेत स्थानान्तरण गर्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनाबारे सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। प्रहरीले आरोपितहरूको साथबाट ज १२ प ७७७७ र मधेश प्रदेश ०२–०१ प २९०२ नम्बरका दुई मोटरसाइकलसमेत नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका चारै जनामाथि आपराधिक लाभ लिन नहुने तथा बाल यौनदुरुपयोगसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।