बारामा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई मंगलबार ब्लु हेभन नेपाल बाराले सुधारिएको चुलो वितरण गरेको छ ।
खाना पकाउने क्रममा सहजता ल्याउने उद्देश्यका साथ CEPC-Nepal नामक दातृ संस्थाको सहयोगमा चुलो वितरण गरिएको हो । ब्लु हेभन नेपाल बाराले जिल्लामा रहेका २१० जनालाई सुधारिएको चुलो उपलब्ध गराएको छ । परम्परागत चुलोका कारण स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले सुधारिएको चुलो वितरण गरिएको ब्लु हेभन नेपाल बाराका कार्यक्रम संयोजक पूर्णिमा श्रेष्ठले जानकारी दिइन् ।
उनका अनुसार सुधारिएको चुलोले दाउरा कम लाग्ने र धुवाँको नियन्त्रण हुने भएकाले वातावरणमैत्री समेत रहेको छ । सुधारिएको चुलो प्रयोगले दाउरा संकलनमा लाग्ने समय, श्रम तथा खर्चमा समेत कमी ल्याउने बताइएको छ । साथै, यसले स्वच्छ वातावरणमा खाना पकाउने अवसर प्रदान गर्ने हुँदा समुदायका सदस्यहरू लाभान्वित हुने आयोजकले उल्लेख गरेका छन् ।
ब्लु हेभन नेपाल बाराका अध्यक्ष नन्दकिशोर गुप्ताका अनुसार यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई मात्र नभई अन्य पिछडिएको वर्गलाई पनि यस प्रकारको सहयोग गर्दै जाने योजना छ ।
चुलो वितरण कार्यक्रममा ब्लु हेभन नेपाल बाराका प्रतिनिधिहरू, स्थानीय अगुवाहरू, दातृ संस्था CEPC-Nepal का प्रतिनिधिहरू तथा लाभग्राही समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो ।