वीरगंज महानगरपालिका–१६ नगवास्थित मूख्य बाटोमा पर्ने हनुमान मन्दिरअगाडिको सडक विगत सात वर्षदेखि जीर्ण अवस्थामा रहँदै आएको छ ।
सडक बिग्रिएर पानी जम्ने समस्या लामो समयदेखि कायम रहे पनि सम्बन्धित निकायले स्थायी समाधानका लागि चासो नदेखाएको स्थानीयवासीले गुनासो गरेका छन् ।
स्थानीय रामेश्वर खुश्वाहाका अनुसार नगवाका अधिकांश स्थानमा अपेक्षाअनुसार विकास निर्माणका काम हुन सकेका छैनन । कतिपय स्थानमा स्थानीयवासीले आफ्नै खर्चमा सडक तथा अन्य विकास निर्माणका काम गर्नुपरेको उनको भनाइ छ ।
खुश्वाहाले वडा अध्यक्ष परशुराम चौरसिया र वीरगंज महानगरपालिकाका मेयरले निर्वाचन जितेपछि जनतासँगको सम्बन्ध र सम्पर्क कायम नगरेको आरोप लगाएका छन् । निर्वाचनका बेला जनतासमक्ष विभिन्न प्रतिबद्धता जनाउने तर निर्वाचित भएपछि स्थानीयका समस्या समाधानमा चासो नदेखाउने गरेको उनको गुनासो छ ।
उनका अनुसार नगवास्थित मूख्य पोखरीको पानीसमेत फोहोर तथा दुर्गन्धित अवस्थामा रहेको छ । पोखरीको पूर्वतर्फको सडक पनि पानीले घेरिएको छ। यसका कारण स्थानीयवासीलाई आवतजावतमा समस्या भइरहेको उनले बताए ।
खुश्वाहाले नगवा क्षेत्रमा विगतमा पूर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा विकासका केही काम भएको उल्लेख गर्दै वर्तमान वडा अध्यक्ष र महानगरपालिकाका मेयरले गरेका विकास निर्माणका कामबारे आफूहरूलाई जानकारी नभएको टिप्पणी गरेका छन् ।
विशेषगरी हनुमान मन्दिरअगाडिको मुखिया बाटोमा सात वर्षदेखि पानी जम्ने समस्या कायम रहँदा पनि स्थायी समाधान हुन नसकेको भन्दै स्थानीयवासीले वडा अध्यक्ष परशुराम चौरसिया तथा महानगरपालिकाको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।
स्थानीयवासीले जीर्ण सडकको तत्काल मर्मत, पानी निकासको उचित व्यवस्था तथा नगवा क्षेत्रका अन्य आधारभूत समस्याको समाधान गर्न वडा कार्यालय र वीरगञ्ज महानगरपालिकासँग माग गरेका छन् ।
निर्वाचनका बेला गरिएका विकासका प्रतिबद्धता कार्यान्वयन गर्न र जनताको गुनासो सुन्न जनप्रतिनिधि स्थानीयस्तरमा उपस्थित हुनुपर्ने स्थानीयवासीको माग छ ।