वीरगंज महानगरपालिका–२ छपकैयास्थित सामा मुरादावादी एन्ड हैदरावादी बिरयानी हाउसलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ । बिरयानीमा मरेको साङ्लो भेटिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि गरिएको बजार अनुगमनका क्रममा खाद्य स्वच्छता तथा सरसफाइमा गम्भीर लापरबाही भेटिएपछि सञ्चालकलाई जरिवाना गरिएको हो ।
मंगलबार उक्त बिरयानी हाउसमा ग्राहकले खाँदै गरेको बिरयानीको मासुमा मरेको साङ्लो भेटिएको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो । भिडियो सार्वजनिक भएपछि बुधबार जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको नेतृत्वमा खटिएको बजार अनुगमन टोलीले बिरयानी हाउसको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा बिरयानी हाउसको भान्सा तथा परिसरमा सरसफाइको अवस्था कमजोर रहेको पाइएको थियो । त्यस्तै, दहीमा किरा र मासु सडेको अवस्थामा फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए।
खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड उल्लङ्घन गरेको पाइएपछि सञ्चालकलाई २ लाख रुपैयाँ जरिवाना गरिएको उनले बताए ।
आर्थिक जरिवानासँगै अनुगमन टोलीले तत्काल सरसफाइमा सुधार गर्न र खाद्य सामग्रीलाई धुलो, धुवाँ तथा किराफट्याङ्ग्राबाट सुरक्षित राख्न निर्देशन दिएको छ । साथै, आवश्यक कागजातसहित सात दिनभित्र जिल्ला प्रशासन कार्यालय पर्सामा उपस्थित हुन सञ्चालकलाई निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।
सार्वजनिक स्थलमा सञ्चालित होटल तथा रेस्टुरेन्टमा खाद्य स्वच्छता र सरसफाइ कायम गर्नु सञ्चालकको अनिवार्य जिम्मेवारी भए पनि यस्ता घटनाले वीरगंजका होटल तथा रेस्टुरेन्टहरूको खाद्य गुणस्तर र बजार अनुगमनको प्रभावकारितामाथि समेत प्रश्न उठाएको छ ।