पर्साको कालिकामाई गाउँपालिकाको कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ ।
गाउँपालिकाको वडा नम्बर ३ हरिहरपुरवीर्तामा रहेको कार्यालयमा बुधबार राति अज्ञात समूहले प्रवेश गरी स्वास्थ्य, रोजगारलगायतका शाखामा आगजनी गरेको हो । प्राप्त विवरणअनुसार बुधबार राति पर्खाल नाघेर कार्यालय परिसरमा प्रवेश गरेको समूहले मुख्य गेटको ताल्चा खोलेर भित्र पसेको थियो । त्यसपछि विभिन्न शाखाका ढोकाको ताल्चासमेत खोलेर मोबिल छर्की आगजनी गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
आगजनीबाट स्वास्थ्य, रोजगारलगायतका शाखामा रहेका कुर्सी, टेबल, फर्निचर, एसी, कम्प्युटर तथा महत्त्वपूर्ण कागजपत्र जलेर नष्ट भएका छन् ।
इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक भानुभक्त अर्यालका अनुसार बिहीबार बिहान गाउँपालिकामा कार्यरत जेसीबी चालक कार्यालय परिसरको मुख्य गेट खोलेर भित्र प्रवेश गर्दा आगजनी भएको अवस्थामा देखेका थिए । त्यसपछि उनले गाउँपालिका अध्यक्ष वशिष्ठ कलवारलाई घटनाबारे जानकारी गराएका थिए। अध्यक्षबाट प्रहरीलाई खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरी निरीक्षक अर्याल नेतृत्वको टोलीले घटनास्थलको निरीक्षण तथा प्रारम्भिक अनुसन्धान गरेको छ। आगजनी कसले र किन गरेको हो भन्ने विषयमा अहिलेसम्म खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, गाउँपालिकाको कार्यालयमा आगजनी भएको खबर पाएपछि बिहीबार बिहान घटनास्थल पुगेका गाउँपालिका अध्यक्ष वशिष्ठ कलवारलाई स्थानीयले घेराउ गरेका थिए। अध्यक्षमाथि दुर्व्यवहारको प्रयास भएपछि केहीबेर कार्यालय परिसरको अवस्था तनावग्रस्त बनेको थियो।
स्थिति तनावपूर्ण बनेपछि प्रहरीले अध्यक्ष कलवारलाई आफ्नै गाडीमा राखेर सुरक्षित रूपमा त्यहाँबाट लगेको थियो।
सरकारी कार्यालयभित्रै प्रवेश गरी स्वास्थ्य र रोजगारजस्ता महत्त्वपूर्ण शाखामा आगजनी हुँदा स्थानीय सेवा प्रवाहमा समेत असर पर्ने देखिएको छ। घटनामा संलग्न व्यक्तिको पहिचान र आगजनीको कारण खुलाउन प्रहरीले अनुसन्धान अघि बढाएको छ।