श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित बिमस्टेक स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा सहभागी भएर स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता बिहीबार मध्याह्न स्वदेश फर्किएकी छन् ।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री मेहताले बैठकमा बिमस्टेक सदस्य राष्ट्रहरूबीच स्वास्थ्य सेवा विस्तार र क्षेत्रीय स्वास्थ्य क्षेत्रलाई थप सबल बनाउने विषयमा छलफल भएको जानकारी दिइन् ।
उनका अनुसार बैठकमा जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पार्ने प्रभाव, स्वास्थ्यसम्बन्धी साझा चुनौती तथा पारस्परिक चिकित्सालाई प्रवर्द्धन र विकास गर्ने विषयमा गहन छलफल भएको थियो ।
बैठकका क्रममा श्रीलंकाका प्रधानमन्त्रीसँग भेटघाट हुनुका साथै बिमस्टेकका सातवटै सदस्य राष्ट्रका स्वास्थ्य मन्त्रीहरूसँग विभिन्न साइड इभेन्टमा समेत सहभागिता जनाएको मन्त्री मेहताले बताइन् ।
यसैगरी, क्यान्सरलगायतका घातक रोगको उपचारमा प्रयोग हुने औषधिको अभाव र महँगो लागतलाई ध्यानमा राख्दै बंगलादेशसँग सरकार–सरकार (जी–टु–जी) सहकार्य गर्ने विषयमा समेत पहल गरिएको उनले जानकारी दिइन् ।
उक्त सहकार्यबाट औषधिको लागत घटाउनुका साथै आवश्यक औषधिको सहज उपलब्धता सुनिश्चित गर्न सकिने अपेक्षा गरिएको मन्त्री मेहताको भनाइ छ ।
बिमस्टेक स्वास्थ्य मन्त्रीस्तरीय बैठकले सदस्य राष्ट्रहरूबीच स्वास्थ्य क्षेत्रमा क्षेत्रीय सहकार्य, अनुभव आदानप्रदान र स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि साझा प्रयास अघि बढाउने विषयमा महत्त्वपूर्ण छलफल गरेको छ ।