नेपालमा बर्सेनि करिब ८० हजार मानिस जलनको चपेटामा पर्ने गरेको तथ्य सार्वजनिक भएको छ । तर जलन पीडितको उपचारमा खटिने विशेषज्ञ चिकित्सकको सङ्ख्या निकै न्यून हुँदा देशको जलन उपचार प्रणाली चुनौतीपूर्ण बन्दै गएको छ ।
नेपाल मेडिकल काउन्सिलमा जलन उपचारको मुख्य नेतृत्व गर्ने प्लास्टिक सर्जन करिब ३० जना मात्रै दर्ता भएका छन्। तीमध्ये पनि सबै चिकित्सक जलन उपचारको क्षेत्रमा सक्रिय छैनन् । कुल जलन प्रभावितमध्ये ६ देखि ७ हजार जना गम्भीर प्रकृतिका हुने र उनीहरूलाई अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था रहेको छ ।
बिरामीको सङ्ख्या ठूलो भए पनि उपचारका लागि आवश्यक विशेषज्ञ जनशक्ति, अस्पताल तथा सुविधाको अभावले जलन पीडितले सहज उपचार पाउन सकेका छैनन् । यसले जलन उपचार सेवालाई देशभर विस्तार गर्न तत्काल नीतिगत हस्तक्षेप र दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता देखाएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नेपाल सरकारको १०० कार्यदिने प्राथमिकतामा जलन उपचार सेवाको सुदृढीकरणलाई राखिएको छ। सोही उद्देश्यअनुसार दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्न विशेष तालिम सञ्चालन गरिएको उनले बताए।
सरकारको जलन उपचारसम्बन्धी मानक उपचार कार्यविधिअनुसार लेभल–३ को जलन उपचार सेवा सञ्चालन गर्न आवश्यक दक्ष जनशक्ति उत्पादनमा तालिमले सहयोग पुर्याउने अपेक्षा गरिएको डा. अधिकारीको भनाइ छ । तालिमबाट प्राप्त ज्ञान र सीपलाई सम्बन्धित अस्पतालमा प्रयोग गरी जलन उपचार वार्ड स्थापना तथा सेवा विस्तार गर्ने सरकारको लक्ष्य रहेको छ ।
विशेषज्ञ जनशक्तिको अभावलाई सम्बोधन गर्न सरकारले सातवटै प्रदेशका प्रादेशिक अस्पतालमा लेभल–३ को विशेष जलन उपचार केन्द्र स्थापना गर्ने अभियान अघि बढाएको छ । यसका लागि आवश्यक जनशक्ति तयार पार्न तालिम कार्यक्रमसमेत सञ्चालन गरिएको छ।
कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डा. किरण नकर्मीका अनुसार नयाँ प्लास्टिक सर्जन उत्पादन गर्न लामो समय लाग्ने भएकाले जनरल सर्जरी गरेका चिकित्सकलाई एक महिनाको विशेष तालिम दिएर २० प्रतिशतसम्म जलन भएका बिरामीको उपचारमा खटाउने योजना बनाइएको छ ।
उनका अनुसार नेपालमा जलनको समस्या व्यापक भए पनि बिरामीको तुलनामा उपचार गर्ने अस्पतालको सङ्ख्या अत्यन्त न्यून छ । सामान्य जलनका बिरामीसमेत उपचारका लागि काठमाडौं आउनुपर्ने बाध्यता रहेको छ । प्रादेशिक अस्पतालमै उपचार सेवा विस्तार गर्न सके बिरामीले आफ्नै क्षेत्रमा सहज रूपमा उपचार पाउने उनले बताए ।
कीर्तिपुर अस्पतालले दुई वर्षअघि नै जनरल वा प्लास्टिक सर्जरी गरेका चिकित्सकका लागि नेपाल मेडिकल काउन्सिलको मान्यतामा एकवर्षे ‘बर्न फेलोसिप’ कोर्स सञ्चालन गर्दै आएको छ । सरकारका तर्फबाट अन्य क्षेत्रका स्वास्थ्यकर्मीलाई समेत तालिममा सहभागी गराउन सके उनीहरूको कार्यक्षमता बढ्ने डा. नकर्मीको भनाइ छ । यसका लागि आवश्यक बजेट, उपयुक्त कार्य वातावरण र प्रोत्साहनको व्यवस्था गर्नुपर्ने उनले औँल्याए।
कीर्तिपुर अस्पतालमा जलनका बिरामीको चापसमेत उल्लेख्य रूपमा बढेको छ। सन् २०१४ मा ९० जना बिरामीको उपचारबाट सेवा सुरु गरेको अस्पतालमा गत वर्ष करिब ९०० जना बिरामी भर्ना भएका थिए । यो सुरुवाती सङ्ख्याको तुलनामा करिब १० गुणा बढी हो ।
अस्पतालमा बिरामी लामो समयसम्म भर्ना भएर बस्नुपर्ने भएकाले दैनिक ३० जनाभन्दा बढी बिरामी वार्डमा उपचाररत रहने गरेका छन् । त्यस्तै, ओपीडीमा दैनिक ३० देखि ३५ जनासम्म नयाँ तथा पुराना बिरामी आउने गरेका छन् ।
डा. नकर्मीका अनुसार अस्पतालमा शल्यक्रियाका उपकरणको अभाव नभए पनि अत्याधुनिक प्रविधियुक्त ड्रेसिङ सामग्री र कृत्रिम छालाजस्ता महँगा उपचार सामग्री सहज रूपमा उपलब्ध हुन सकेका छैनन् । सरकारले यस्ता सामग्रीको उपलब्धता सुनिश्चित गर्न सके देशका सबै प्रदेशमा जलन उपचार सेवा थप भरपर्दो र सुलभ बन्न सक्ने उनको भनाइ छ ।
प्रादेशिक अस्पतालहरूमा विशेषज्ञ उपचार सेवा सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयअन्तर्गतको क्युरेटिभ सर्भिस डिभिजनले मानक उपचार प्रोटोकलअनुसार कार्यक्रम अघि बढाएको छ । जलन उपचार सेवालाई प्रभावकारी बनाउन तालिम प्राप्त एक जना सर्जन, अपरेसन थिएटर (ओटी) नर्स र आईसीयू नर्ससहितको दक्ष जनशक्ति आवश्यक पर्ने व्यवस्था गरिएको छ ।
यसैअनुसार एक महिनाको ‘एडभान्स्ड बर्न केयर ट्रेनिङ’ कोर्स तयार गरी पहिलो चरणमा सुर्खेत र वीरगंजका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीलाई तालिम प्रदान गरिएको छ ।
तालिममा एक जना जनरल सर्जनको नेतृत्वमा आईसीयू नर्स, ओटी नर्स र वार्डका स्वास्थ्यकर्मी गरी चार सदस्यीय टोली सहभागी हुने व्यवस्था छ । टोलीलाई संयुक्त रूपमा ३० कार्यदिनको सघन तालिम प्रदान गरिन्छ ।
यस तालिममार्फत स्वास्थ्यकर्मीलाई २० प्रतिशतसम्म शरीरको भाग जलन भएका बिरामीको उपचार प्रादेशिक अस्पतालमै गर्न सक्ने क्षमता विकास गराउने लक्ष्य राखिएको छ । तालिममा शल्यक्रिया, आईसीयू तथा वार्डमा गरिने आकस्मिक व्यवस्थापनलगायत सैद्धान्तिक र व्यावहारिक सीप अपरेसन थिएटर, आईसीयू र वार्डमै सिकाइन्छ ।
पहिलो चरणको तालिम सम्पन्न भएसँगै आगामी दिनमा अन्य प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीलाई पनि यस कार्यक्रममा सहभागी गराउने सरकारको योजना छ । यसले जलन उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता कम गर्नुका साथै प्रदेशस्तरमै विशेषज्ञ उपचार सेवा विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।