छठ पर्वमा बाँसबाट बनेको दौरा, दगरा र सुपलीको प्रयोग गर्ने परम्परा रहिआएको छ। छठी माताको पूजाका लागि आवश्यक सामग्री राख्न बाँसका सामग्री प्रयोग गर्ने चलन पुस्तौँदेखि चल्दै आएको हो । तर, पछिल्लो समय यो परम्परा विस्तारै ओझेलमा पर्दै गएको छ। बाँसका दौराको ठाउँ पित्तलका दौराले लिन थालेपछि परम्परागत रूपमा बाँसका सामग्री बनाउने र बिक्री गर्ने डोम समुदायका व्यापारीहरू संकटमा परेका छन् ।
छठ पर्व नजिकिएसँगै वीरगञ्ज बजारमा बाँसका दौरा, दगरा, सुपलीलगायतका सामग्री बिक्रीका लागि राखिएका छन् । तर, विगतका वर्षको तुलनामा यस वर्ष ग्राहकको आकर्षण घटेको व्यापारीहरूको अनुभव छ। उनीहरूका अनुसार उपभोक्ताहरूले अहिले बाँसका सामग्रीभन्दा पित्तलबाट बनेका दौरा, सुपली र लोटा किन्ने क्रम बढाएका छन् ।
विशेषगरी सीमावर्ती भारतीय बजार रक्सौलबाट पित्तलका पूजा सामग्री किनेर ल्याउने प्रवृत्तिले वीरगञ्जका स्थानीय व्यापारीलाई थप प्रभावित बनाएको छ। पित्तलका सामग्री एकपटक खरिद गरेपछि १० देखि १५ वर्षसम्म प्रयोग गर्न सकिने भएकाले उपभोक्ताहरूले त्यसलाई प्राथमिकता दिन थालेका छन् ।
यसको प्रत्यक्ष असर बाँसका सामग्री बिक्री गर्ने डोम समुदायका व्यापारीमा परेको छ। विगतमा ७०० देखि ८०० रुपैयाँसम्ममा बिक्री हुने एउटा बाँसको दौरा अहिले ३०० देखि ४०० रुपैयाँमा बिक्री गर्नुपरेको उनीहरू बताउँछन् । दगरा १५० रुपैयाँ र सुपली करिब १०० रुपैयाँमा बिक्री गर्दा पनि ग्राहक पाउन कठिन भइरहेको उनीहरूको गुनासो छ ।
व्यापारीहरूका अनुसार पहिले छठ पर्वको समयमा बाँसका दौरा र अन्य सामग्रीको माग राम्रो हुने गरेको थियो। तर, अहिले सस्तो मूल्यमा बिक्री गर्दा पनि सामग्री नबिकेपछि लगानीसमेत उठाउन मुस्किल भएको छ ।
बाँसको दौरा केवल पूजाका सामग्री बोक्ने साधन मात्र होइन, यो छठ पर्वको मौलिक परम्परा र संस्कृतिसँग पनि जोडिएको छ । बाँसबाट सामग्री बनाउने सीप र त्यसको व्यापार डोम समुदायका परिवारको पुस्तौँदेखिको पेसा हो । यही पेसाबाट उनीहरूले छठ पर्वको समयमा आम्दानी गर्दै परिवारको जीविकोपार्जन गर्दै आएका छन् ।