मिथिलाञ्चलसहित तराई–मधेसमा श्रद्धा, निष्ठा र भक्तिभावका साथ मनाइने छठ पर्व आजदेखि विधिवत् रूपमा सुरु भएको छ । पाँच दिनसम्म मनाइने यस पर्वको पहिलो दिन व्रतालुहरूले शुद्धता र चोखोपनमा विशेष ध्यान दिँदै व्रतको तयारी सुरु गरेका छन् ।
छठ पर्वको प्रारम्भसँगै व्रतालुहरूले माछा, मासु तथा कोदोबाट बनेका खाद्य परिकार त्याग्ने परम्परा छ । पर्व अवधिभर शुद्धता, संयम र नियमपालनलाई विशेष महत्त्व दिइन्छ ।
पर्वको दोस्रो दिन अर्थात् भोलि नहाय–खाय विधि मनाइनेछ । यस दिन व्रतालुहरूले स्नान गरी शुद्ध भोजन ग्रहण गर्नेछन् । तेस्रो दिन शनिबार दिनभर उपवास बसेर साँझ सख्खरको रसमा पकाइएको खिर कुलदेवता तथा छठी मातालाई अर्पण गरी खरना विधि सम्पन्न गर्नेछन् ।
यस वर्ष छठ पर्वको मुख्य पूजा आइतबार साँझ गरिनेछ । यसलाई 'सझुका अर्घ्य' भनिन्छ । यस दिन दिनभर निराहार उपवास बसेका व्रतालुहरू साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्न जलाशय तथा छठघाट पुग्नेछन् । उनीहरूले घरमै तयार पारेका ठेकुवा, भुसुवा लगायतका प्रसाद सामग्रीसहित सूर्यदेवलाई अर्घ्य दिनेछन् ।
पर्वको अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि छठ व्रत समापन हुनेछ । यस विधिलाई पारणा भनिन्छ । पारणापछि व्रतालुहरूले परिवारजन तथा इष्टमित्रलाई प्रसाद वितरण गर्ने परम्परा छ ।
यसैबीच, छठ पर्वलाई लक्षित गर्दै विभिन्न स्थानीय तहमा छठघाट निर्माण, सरसफाइ तथा व्यवस्थापनका कामलाई तीव्रता दिइएको छ । जलाशय, पोखरी, नदी तथा नहरका किनारमा व्रतालु र श्रद्धालुहरूको सुविधाका लागि आवश्यक तयारी भइरहेको छ ।
मिथिलाञ्चलमा तिहारलगत्तै मनाइने छठ पर्वलाई दोस्रो ठूलो पर्वका रूपमा लिने गरिन्छ । सूर्यदेव र छठी माताको उपासना गरिने यस पर्वमा सन्तानको सुख, परिवारको समृद्धि, आरोग्यता तथा मनोकामना पूर्तिको कामना गर्दै श्रद्धालुहरू कठोर व्रत बस्ने गर्छन् ।