जिल्ला प्रशासन कार्यालय पर्साले छठ पर्वलाई भव्य, सभ्य, सुरक्षित र मर्यादित रूपमा मनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै पर्व मनाउने क्रममा हुन सक्ने आगलागी, दुर्घटना तथा मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन् ।
प्रशासनले छठ पर्वका क्रममा पटका, आतिसबाजीलगायतका प्रज्वलनशील तथा विस्फोटक पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्न आग्रह गरेको छ । यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।
त्यसैगरी, छठ घाट तथा पोखरीमा पूजा र अर्घ्य दिने क्रममा बालबालिका, वृद्धवृद्धा तथा अन्य श्रद्धालुहरू डुब्न सक्ने जोखिमलाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।
सम्भावित विपद् तथा दुर्घटना भएमा तत्काल उद्धार गर्न आवश्यक उपकरणसहित सुरक्षाकर्मी तयारी अवस्थामा रहने प्रशासनले जनाएको छ ।
छठ पर्वको धार्मिक मर्यादा र पवित्रता कायम राख्न छठ पूजास्थल तथा घाट वरपर माछा, मासुलगायतका खाद्यवस्तु र सबै प्रकारका मादक पदार्थको बिक्री वितरण तथा सेवनमा समेत रोक लगाइएको छ । प्रशासनका अनुसार कात्तिक २९ गतेसम्म लागू हुने उक्त व्यवस्था उल्लङ्घन नगर्न सम्बन्धित व्यवसायी तथा सर्वसाधारणलाई अनुरोध गरिएको छ ।
पर्व अवधिभर शान्ति सुरक्षा कायम राख्न स्थानीय प्रशासन, सुरक्षा निकाय तथा छठ पूजा व्यवस्थापन समितिसँग आवश्यक समन्वय र सहकार्य गर्नसमेत जिल्ला प्रशासन कार्यालय पर्साले सर्वसाधारणमा अपिल गरेको छ ।