सभामुख डोलप्रसाद (डीपी) अर्यालले वीरगंजस्थित सहिद स्मारकमा पुगेर मधेश आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
सोमबार वीरगञ्जस्थित सहिद स्मारकमा पुगेका सभामुख अर्यालले मधेश आन्दोलनका क्रममा आफ्नो जीवन उत्सर्ग गर्ने सहिदहरूको सम्मानमा पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
श्रद्धाञ्जली अर्पणपछि सभामुख अर्यालले सहिदहरूको त्याग, बलिदान र योगदानको स्मरण गर्दै उनीहरूले देखेको सपना साकार पार्न सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताए ।
उनले भने, ‘सहिदहरूले देखेका समानता, सामाजिक न्याय, अधिकार र सम्मानसहितको समाज निर्माणको संकल्पलाई सबैले आत्मसात् गर्नुपर्छ ।’
सभामुख अर्यालले सहिदहरूको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै समानता, सामाजिक न्याय र अधिकार सुनिश्चित भएको समाज निर्माणमा सबै पक्ष प्रतिबद्ध हुनुपर्ने सन्देश दिएका छन् ।