काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवन राइनोज दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा चितवनले दिएको २०५ रनको लक्ष्य पछ्याएको काठमाडौं गोर्खाजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४३ रन मात्रै बनाउन सक्यो ।
काठमाडौंका लागि विलियम बोसिस्टोले सर्वाधिक ३७ रन बनाए। उनले २८ बलमा ३ चौका र २ छक्का प्रहार गरे। त्यस्तै भीम सार्कीले ३० रन बनाए भने सहान अर्राचिगेले २४ र गणेश गौतमले ४ रन बनाए ।
काठमाडौंका ओपनर साहिल पटेल २ र साम हेज्लेट ३ रनमा आउट भए। कप्तान करण केसी १ रनमा बोल्ड हुँदा जहानदाद खान खाता नखोल्दै पभेलियन फर्किए। सोनु देवकोटाले ६ रन बनाए ।
चितवनका लागि रिजन ढकालले उत्कृष्ट बलिङ गर्दै सर्वाधिक ४ विकेट लिए। पाकिस्तानी बलर उस्मा मिरले ३ विकेट लिँदा सलाउद्दिन खान र कुशल मल्लले समान १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रनको विशाल योगफल तयार पारेको थियो ।
चितवनका लागि ओपनर कामिल मिशराले कीर्तिमानी शतकीय पारी खेले। उनले ५९ बलमा ५ चौका र १० छक्काको मद्दतमा अविजित १२० रन बनाए । उनको यो पारीसँगै एनपीएलमा व्यक्तिगत सर्वाधिक रन बनाउने कीर्तिमानसमेत कायम भएको छ ।
यसअघि कर्णाली याक्सका मार्क वाटले बनाएको ११४ रनको कीर्तिमान मिशराले तोडेका हुन्। मिशरा एनपीएल इतिहासमा शतक प्रहार गर्ने पाँचौँ खेलाडीसमेत बनेका छन् ।
मिशराले तेस्रो विकेटका लागि कप्तान रवि बोपारासँग १५४ रनको महत्वपूर्ण साझेदारी गर्दै चितवनको इनिङ्सलाई मजबुत बनाएका थिए। बोपाराले ४२ बलमा ३ चौका र २ छक्काको मद्दतमा ५३ रन बनाए ।
चितवनका अर्का ओपनर देव खनालले १७ रन बनाए भने डेविड मलान खाता नखोल्दै आउट भए । विवेक यादवले ३ बलमा २ चौकासहित ८ रन बनाए। कुशल मल्ल शून्य रनमा अविजित रहे ।
काठमाडौंका लागि कप्तान करण केसी र रासिद खानले समान २ विकेट लिए ।
यस जितसँगै चितवनले प्रतियोगिताको तीन संस्करणमा पहिलो पटक दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको छ । पहिलो संस्करणमा प्लेअफ पुगेको चितवन एलिमिनेटरमा कर्णाली याक्ससँग २१ रनले पराजित भएको थियो भने दोस्रो संस्करणमा सातौँ स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।
अब चितवन राइनोजले दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको सुदूरपश्चिमका लागि फाइनल प्रवेशको सम्भावना कायम राख्न यो खेल महत्वपूर्ण हुनेछ। दोस्रो क्वालिफायर बिहीबार हुनेछ ।