पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य सुशील कुमार कानुले आफ्नो निर्वाचन क्षेत्रका विकास निर्माणका काम तथा नागरिकका दैनिक समस्यालाई थप व्यवस्थित, प्रभावकारी र जनमुखी बनाउन चार सदस्यीय सचिवालय गठन गरेका छन् ।
नागरिकका गुनासा, समस्या तथा स्थानीय आवश्यकतालाई प्रत्यक्ष रूपमा बुझ्दै विकास निर्माणका काममा तीव्रता दिने, सम्बन्धित निकायसँग समन्वय गर्ने र सेवा प्रवाहलाई सहज बनाउने उद्देश्यले सांसद कानुले सचिवालय गठन गरेका हुन्।
गठित सचिवालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय तथा प्रादेशिक तहमा जिम्मेवारी सम्हालिसकेका नेताहरूलाई समेटिएको छ ।
सचिवालयमा रास्वपा पर्सा–२ का क्षेत्रीय सभापति फैयाज अन्सारी, रास्वपा पर्सा–१ का पूर्वसभापति एवं मधेस प्रदेश यातायात विभाग प्रमुख राम आर्य, रास्वपाका महाधिवेशन प्रतिनिधि बुद्धिराज पौडेल र रास्वपा पर्सा–२ का क्षेत्रीय सदस्य विजय यादव रहेका छन् ।
सचिवालयले मुख्य रूपमा निर्वाचन क्षेत्रका नागरिकसँग प्रत्यक्ष सम्पर्क र समन्वय गर्ने, उनीहरूका समस्या, पीरमर्का तथा गुनासा सुन्ने र ती विषयलाई सम्बन्धित सरकारी तथा गैरसरकारी निकायसम्म पुर्याएर समाधानका लागि आवश्यक पहल गर्ने जिम्मेवारी पाएको छ ।
त्यसैगरी, निर्वाचन क्षेत्रभित्र सञ्चालित तथा आगामी दिनमा सञ्चालन हुने विकास निर्माणका योजना र पूर्वाधार विकासका कार्यक्रमको स्थलगत अनुगमन गर्ने, सम्बन्धित निकायसँग समन्वय गर्ने तथा योजनाको कार्यान्वयनमा देखिने अवरोध हटाउन सहजीकरण गर्ने जिम्मेवारी पनि सचिवालयलाई दिइएको छ ।
सचिवालय गठनसँगै नागरिकका आवश्यकता र समस्यालाई प्राथमिकतामा राखेर सेवा प्रवाह तथा विकास निर्माणका कामलाई थप गति दिने विश्वास सांसद कानुले व्यक्त गरेका छन् ।
उनका अनुसार सचिवालयले नागरिक र जनप्रतिनिधिबीचको दूरी घटाउँदै जनताका समस्या तथा आवश्यकतालाई सम्बन्धित निकायसम्म पुर्याउन प्रभावकारी माध्यमका रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।
सचिवालय गठनसँगै पर्सा–२ का नागरिकले आफ्ना गुनासा, विकास निर्माणसम्बन्धी आवश्यकता तथा सार्वजनिक सरोकारका विषयमा सांसदसँग प्रत्यक्ष सम्पर्क गर्न सहज हुने अपेक्षा गरिएको छ ।