सप्तरीको राजविराजस्थित हुलाकी सडक खण्डअन्तर्गत अदालत रोडमा फोहोर व्यवस्थापनमा नगरपालिकाले बेवास्ता गरेको र फुटपाथ अतिक्रमण गरी पसल सञ्चालन गर्न दिएको भन्दै स्थानीयवासीले सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका छन् ।
नियमित रूपमा फोहोर नउठाउँदा सडक दुर्गन्धित बनेको तथा पैदलयात्रीका लागि निर्माण गरिएको फुटपाथमा पसल सञ्चालन गर्न दिँदा आवतजावतमा समस्या भएको भन्दै स्थानीयले विरोध जनाएका हुन् ।
फुटपाथ पसलले ढाकिएपछि सर्वसाधारण सडकबाटै हिँड्नुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ । उनीहरूले सडकलाई नै फोहोर फाल्ने ठाउँ (डम्पिङ साइट) बनाइएको आरोप लगाउँदै तत्काल फोहोर व्यवस्थापन र फुटपाथ अतिक्रमण हटाउन माग गरेका छन् ।
पूर्वसांसद सूर्यनाथप्रसाद यादव (सुभाष) ले नगरपालिकाले तत्काल फोहोर व्यवस्थापन गर्नुपर्ने र फुटपाथ खाली गराउनुपर्ने बताउनुभयो । उहाँले सर्वसाधारणको जनस्वास्थ्यसँग खेलवाड नगर्न नगरपालिकालाई आग्रह गर्नुभयो ।
नागरिक अभियन्ता डा. सूर्यप्रसाद यादवका अनुसार फुटपाथ खाली गराउन र फोहोर व्यवस्थापन गर्न पटक–पटक नगरपालिकाको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि स्थानीयले केही समय सडक अवरुद्ध गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले समस्या समाधानका लागि सर्वपक्षीय बैठक बोलाउने प्रतिबद्धता जनाएपछि सडक अवरोध हटाइएको डा. यादवले जानकारी दिनुभयो ।
स्थानीयका अनुसार उक्त सडकको फुटपाथमा व्यापार गर्ने व्यवसायीबाट नगरपालिकाको गुद्रीहाट व्यवस्थापन ठेकेदारले नियमित रूपमा शुल्कसमेत उठाउँदै आएको छ । तर, शुल्क उठाइए पनि फुटपाथ व्यवस्थापन र पैदलयात्रीको सहज आवागमनमा ध्यान नदिइएको उनीहरूको आरोप छ ।
अदालत रोडको एउटै क्षेत्रमा जिल्ला प्रशासन कार्यालय, सरकारी वकिलको कार्यालय, सप्तरी जिल्ला अदालत, उच्च अदालत जनकपुरको राजविराज इजलास, कर सेवा केन्द्र, जिल्ला हुलाक कार्यालय, भौतिक पूर्वाधार कार्यालय, सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय, राजविराज नगरपालिका, भूमि प्रशासन कार्यालय, कर्मचारी मिल केन्द्र, नापी कार्यालय, रेडक्रस तथा नगरपालिकाद्वारा सञ्चालित प्रादेशिक स्वास्थ्य प्रयोगशालालगायतका सरकारी तथा सार्वजनिक निकाय रहेका छन् ।
दैनिक ठूलो संख्यामा सेवाग्राहीको आवतजावत हुने उक्त सडकलाई व्यवस्थित बनाउन सडक डिभिजन कार्यालय लहानले डिभाइडरसमेत राखेको छ । तर, फुटपाथ अतिक्रमण र फोहोर व्यवस्थापनको समस्या भने अझै समाधान हुन नसकेको स्थानीयको भनाइ छ ।
स्थानीयले सडक अवरुद्ध गरेपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले अवस्था नियन्त्रणमा लिन तथा सडक अवरोध हटाउन प्रहरी परिचालन गरेको थियो ।
स्थानीयवासीले सडक नियमित सफा गर्न, फुटपाथ अतिक्रमण हटाउन र पैदलयात्रीका लागि सहज आवागमनको व्यवस्था मिलाउन राजविराज नगरपालिकासँग माग गरेका छन् ।