राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेस भ्रमणका क्रममा मधेसी समुदायको मौलिक पहिरन धोती–कुर्ता लगाएर छठ पर्व मनाएपछि मधेस प्रदेशमा सामाजिक तथा सांस्कृतिक अपनत्वको भावना थप बलियो बनेको छ । लामिछानेको यो कदमले पहाड र मधेसबीचको भावनात्मक दूरी कम गर्दै समुदाय जोड्ने सेतुको काम गरेको स्थानीय समर्थकहरूले बताएका छन् ।
पत्नी निकिता पौडेलसहित तीनदिने भ्रमणका क्रममा जनकपुरधाम पुगेका सभापति लामिछानेले कुनै होटल वा विशेष अतिथि गृहको सट्टा एक सर्वसाधारण नागरिकको घरमा बसेर छठका धार्मिक विधिहरूमा सहभागिता जनाएका थिए । सोही क्रममा उनले जानकी मन्दिरमा पूजाआजा गर्नुका साथै ऐतिहासिक गङ्गासागर घाटमा पुगेर मिथिला संस्कृतिको पहिचान झल्किने धोती–कुर्तामा सजिएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए ।
मधेसी स्वाभिमान र पहिचानको सम्मान
राष्ट्रिय स्तरको शीर्ष नेतृत्वबाट मधेसको परम्परागत भेषभूषा र आस्थालाई सहज रूपमा आत्मसात् गरिनुले मधेस प्रदेशका जनताको स्वाभिमान र आत्मसम्मान उच्च बनाएको स्थानीय बासिन्दाहरूको बुझाइ रहेको छ । विगतमा पहाडी भेगमा मधेसी पहिरन, भाषा र संस्कृतिलाई लिएर कतिपय अवस्थामा विभेद वा हेपाइ हुने गरेको गुनासो सुनिने गरेको सन्दर्भमा लामिछानेको यो प्रस्तुतिले मधेसमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।
स्थानीय अगुवाहरूका अनुसार शीर्ष राजनीतिक नेतृत्वले नै मधेसी पहिरन लगाएर पर्व मनाउँदा यस्ता संकुचित सोच र विभेद चिर्न मद्दत पुग्छ । एक समुदायको चाडपर्व र पहिरनलाई अर्को समुदायको नेतृत्वले सम्मानपूर्वक स्वीकार गर्दा आपसी सद्भाव, भाइचारा र राष्ट्रिय एकता अझ सुदृढ हुने उनीहरूको भनाइ छ ।
सर्वसाधारणसँगको घुलमिल र उत्साह
जनकपुर बसाइका क्रममा राजनीतिक भाषणभन्दा सांस्कृतिक घुलमिल र सर्वसाधारणसँगको भेटघाटलाई प्राथमिकता दिएका लामिछानेले विभिन्न छठ घाटमा पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद समेत गरेका थिए । मधेसको माटो र संस्कृतिसँग एकाकार हुँदै उनले धोती–कुर्तामा छठ मनाएका तस्बिर तथा भिडियोहरू सामाजिक सञ्जालमा व्यापक रूपमा भाईरल भएका छन् ।
लामिछानेको यस किसिमको आत्मीय सहभागिताले मधेसी जनतामा अपनत्वको गहिरो अनुभूति गराउनुका साथै पहाड र मधेसबीचको सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको कतिपयकाे बुझाई रहेको छ ।