बारा, पथलैया–हेटौंडा सडकखण्डअन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जमा यात्रुबाहक ईभी गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ निवासी ६० वर्षीय निरबहादुर वाइबा रहेका छन् । दुर्घटनामा उनकी ५६ वर्षीया श्रीमती माया तामाङ घाइते भएकी छन् ।
प्रहरीका अनुसार वीरगन्जबाट काठमाडौं जाँदै गरेको बा.०१–००६ ख ९८३६ नम्बरको ईभीले विपरीत दिशाबाट आउँदै गरेको बा.०२–०३७ प ८५९८ नम्बरको स्कुटरलाई जीतपुरसिमरा–२२ स्थित ४ नम्बर पुलमा ठक्कर दिएको थियो ।
दुर्घटनामा वाइबा र उनकी श्रीमती घाइते भएका थिए । दुवैलाई तत्कालै उपचारका लागि हेटौंडा अस्पताल पठाइएकोमा अस्पताल पुगेलगत्तै चिकित्सकले वाइबालाई मृत घोषणा गरेका थिए । घाइते मायाको भने उपचार भइरहेको छ ।
बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार दुर्घटनामा संलग्न ईभी चालक झापाको बिर्तामोड नगरपालिका–५ पाथीभरा निवासी ५० वर्षीय रमेश प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।