तराई मधेस जागरण अभियान लिएर वीरगन्ज पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई वीरगंज महानगरपालिका मेयर राजेशमान सिंहले वीरगंजलाई माया गर्छु भनेर मात्रै नहुने गुनासो गरेका छन् ।
तराई मधेस जागरण अभियानका दौरान वीरगंज आइपुगेका माओवादी अध्यक्ष प्रचण्डलाई घडीअर्वा परिसरमा स्वागत गर्दै मेयर राजेशमान सिंहले यस्तो गुनासो गरेका हुन् । मेयर सिंहले वीरगञ्जलाई माया गर्छु भनेर मात्र पुग्दैन, यहाँपनि विकासका नमूना परियोजना ल्याउन आवश्यक छ । वीरगञ्जको शहरी पूर्वाधार, सडक विस्तार, र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पनि सङ्घीय सरकारको ध्यान पुर्याउन आग्रह गरे ।
पूर्व प्रधानमन्त्री रहेका अध्यक्ष प्रचण्डले मधेशसंग लभ परेको भन्दै पटक पटक विभिन्न समारोहमा अभिव्यक्ति दिदैँ आएका छन् । अहिले मधेशमा पार्टीलाई पुनः सशक्त बनाउने रणनीतिका साथ हुलाकी राजमार्ग केन्द्रित मधेश जागरण अभियानमा लागेका छन् ।
सोही अभियानको क्रममा वीरगंजलाई चितवन जस्तै विकास गर्ने अठोटका साथ वीरगंजलाई माया गर्न मेयर राजेशमान सिंहले आग्रह गरका थिए । भेटमा सँगै मर्निङ्ग वाक गरेका दुबै नेताले वीरगंजको विकासका लागी विभिन्न विषयमा कुराकानी गरेका थिए ।
आज पर्सामा पत्रकार सम्मेलन, जनसंवाद कार्यक्रम तथा पार्टी नेतृत्वको समीक्षा बैठक लगायतको कार्यक्रम राखिएको छ ।